लुम्बिनीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

छिनोफानो   मङ्गलबार ०४, भदौ २०८१ १०:१०

काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिँदैछन्।  मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक दिउँसो १ बजे बोलाइएको छ। 

 

 

आचार्यलाई सात वटा राजनीतिक दलले विश्वासको मत दिने भएका छन् । नेकपा एमालेका सांसद आचार्य नेपाली कांग्रेसको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। गत साउन ७ गते मुख्यमन्त्री नियुक्त हुँदा आचार्य एमाले संसदीय दलका उपनेता थिए। गत बसेको संसदीय दलको बैठकले आचार्यलाई संसदीय दलका नेतासमेत चयन गरिसकेको छ । 

मुख्यमन्त्री आचार्यलाई कांग्रेस र एमालेसहित अन्य पाँच दलका सांसदले पनि विश्वासको मत दिने भएको एमालेका प्रमुख सचेतक तुल्सीप्रसाद चौधरीले बताए। 
 ती दलले विश्वासको मत दिन ह्विप पनि जारी गरेका छन्। 

लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ जना सांसद छन्। यी दुई दल मात्रै भए पनि  सरकार बनाउन बहुमत पुग्छ। ११ वटा दल क्रियाशील रहेको लुम्बिनी प्रदेशमा ८७ जना सांसद छन्। 

मुख्यमन्त्री आचार्यलाई सात वटा दलका सांसदले मत दिएका खण्डमा दुई तिहाइ समर्थन प्राप्त हुन सक्ने बताइएको छ। 

एमालेका प्रमुख सचेतक चौधरीले शनिबारकै संसदीय दलको बैठकबाटै मुख्यमन्त्री आचार्यको पक्षमा मतदान गर्न एमालेका सबै सांसदलाई ह्विप जारी गरिसकेको जानकारी दिए। 

कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले पनि मुख्यमन्त्री आचार्यको पक्षमा मतदान गर्न ह्विप जारी गरेको कांग्रेस नेता जन्मजय तिमिल्सिनाले बताए।  मुख्यमन्त्री आचार्यले विश्वासको मत लिएपछि मात्रै सरकारलाई पूर्णता दिने तयारी गरेका छन्। 

मन्त्रीपरिषद्मा अहिले एमालेबाट मुख्यमन्त्रीसहित पाँच र कांग्रेसबाट चार जना मन्त्री रहेका छन्। लुम्बिनीमा मन्त्रीपरिषद् १२ सदस्यीय हुने छ।

कांग्रेसबाट एक र अन्य दलबाट दुई जना मन्त्री बनाउने तयारीमा मुख्यमन्त्री रहेको बुझिएको छ। कांग्रेसभित्र बादशाह कुर्मीलाई मन्त्री बनाएकोमा असन्तुष्टि पनि देखा परेको छ। कुर्मीमाथि बाँकेको जानकी गाउँपालिकाकी निर्मला कुर्मीको अपहरण तथा हत्यामा संलग्न रहेको आरोप लागेको छ।

मुख्यमन्त्री आचार्यलाई जनमत, लोसपा, जसपा, जसपा नेपाल र नाउपाका सांसदले पनि विश्वासको मत दिने भएका छन्। जनमत र लोसपाका तीन–तीन जना सांसद छन्। जसपाका दुई, जसपा नेपालका एक, नाउपाका चार सांसद छन्।  

लुम्बिनीमा माओवादीका १०, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रका एक एक जना सांसद छन्। १३ जना सांसदले मुख्यमन्त्री आचार्यलाई विश्वास मत नदिने बुझिएको छ।   

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु