प्रचण्डको भूमिकामाथि सुदूरपश्चिमका नेताहरूले उठाए प्रश्न

छिनोफानो   बिहिबार १३, भदौ २०८१ ११:१४

सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतासम्बन्धी विवादलाई लिएर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भूमिकाप्रति नेताहरूले प्रश्न उठाएका छन् ।  बुधवारदेखि धनगढीमा सुरु भएको माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश परामर्श समिति बैठकमा नेताहरूले प्रचण्डको आलोचना गर्दै प्रश्न उठाएका हुन् ।  

बैठकमा दलभित्रको विवादमा नेतृत्वले हस्तक्षेप गरेकोमा अधिकांश नेताहरूले तीव्र असन्तुष्टि पोखेको एक केन्द्रीय सदस्यले जानकारी दिए । ती सदस्यका अनुसार दलभित्रको विवादमा नेतृत्वले अनावश्यक गिजोल्दा समस्या गम्भीर भएको निष्कर्ष सुनाएका थिए ।

बिहीबारसम्म चल्ने परामर्श समिति बैठकको सुरुमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी निर्माण र विचारको विकाससम्बन्धी पुरानै कुरा दोहोर्‍याएका थिए । प्रचण्डले आफ्नो धारणा राखेपछि सुदूरपश्चिममा कार्यरत केन्द्रीय सदस्यहरूले आ–आफ्ना विचार राखेका थिए ।

‘अध्यक्षले पुरानै कुरा दोहोर्‍याउनु भएको थियो । नयाँ कुरा केही गर्नुभएन । उहाँले बोलेपछि आज ३२ जना नेताहरूले आ–आफ्ना विचार राख्नुभयो । बोल्ने अधिकांश साथीहरूले संसदीय दलको विवाद गम्भीर रूपमा उठाएका थिए’, ती नेताले भने, ‘केन्द्रको हस्तक्षेप बेठिक भएको, दलभित्रको विवाद माथिबाट नै गराइएकोले अलि गम्भीर ढङ्गले गयो भन्ने धारणा धेरैको थियो । सबै सिनियर नेता आउनुभएकाले दलको विवाद हल गरेर फर्किन यहाँका नेताहरूले शीर्ष नेताहरूमाथि खबरदारी गर्नुभयो ।’

गतवर्ष माघ १२ गते बहुमत सांसदले खगराज भट्टलाई दलको नेताबाट हटाएपछि चर्किएको विवाद केन्द्रमा आइपुगेको थियो । यही असारको दोस्रो हप्ता पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले दुवै पक्षलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाए सहमतिमा भट्टलाई दलको नेता बनाउन निर्देशन दिएका थिए । 

उनको निर्देशन कार्यान्वयन नभएपछि पार्टीले निर्देशन कार्यान्वयन गर्न संसदीय दललाई परिपत्र नै पठाएको थियो । तर दुई महिना बितिसक्दा समेत निर्देशन कार्यान्वयन नहुँदा नेतृत्वमाथि नेताहरू खनिएका थिए । बहुमतबाट दलका नेता बनेका मानबहादुर धामीले बहुमतबाट नै नेता बनेर देखाउन भट्टलाई चुनौती दिँदै आएका छन् । यद्यपि अध्यक्ष प्रचण्डको आड पाएर नेता परिवर्तन गरिएको भट्ट पक्षीय नेताहरूले आरोप लगाउँदै आएका छन् । 

नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउनेमा जनक बुढा, लालबहादुर सोडारी, टेकेन्द्र भट्ट, रणबहादुर कुँवर लगायत धेरै नेताहरू रहेका ती सदस्यले दाबी गरेका छन् ।  

बैठकमा बोल्ने क्रममा केन्द्रीय सदस्य जनक बुढाले नेतृत्वबाट विवाद सिर्जना गरिएकाले नेतृत्वले नै विवादको हल गर्नुपर्ने धारणा राखेका थिए । 

‘संसदीय दलको विवाद तपाईँहरूले सिर्जना गरेको समस्या हो । सबै शीर्ष नेताहरू यहाँ आउनुभएको छ । तपाईँले नै हल गरेर जानुपर्छ’, बुढाको भनाइ उदृत गर्दै  एक केन्द्रीय सदस्यले भने ।

यस्तै बैठकमा अधिकांश नेताहरूले विचारको बहस ठिक भएको बताएका थिए । सोही क्रममा उपमहासचिव जनार्दन शर्मा प्रभाकरले राखेको प्रस्तावको पक्षमा धेरैले समर्थन गरेको पाइएको छ ।

‘अन्तर्विरोधको विषयमा अधिकांशले प्रभाकरको प्रस्तावको समर्थन गर्नुको साथै प्रस्तावको पक्षमा पूर्ण ऐक्यबद्धता जनाएका छन्’, एक केन्द्रीय सदस्यले भने, ‘विचारको बहस उठ्नु ठिक भएको र यसलाई कुण्ठित गर्नु हुँदैन । तलैसम्म बहसका लागि लैजानुपर्छ भन्नेमा अधिकांशको मत रहेको छ ।’

केही नेताहरूले भने अध्यक्षको विकल्प खोज्न नहुने भन्दै प्रचण्डको प्रतिरक्षा गरिएको पाइएको छ । प्रचण्डको प्रतिरक्षामा उत्रिने नेताहरूमा  मालसिंह माल, पूर्वउपसभामुख समेत रहेकी निर्मला बडाल, कुन्ती जोशी लगायत रहेका छन् ।

साउन २५ देखि ३१ सम्म केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा जनार्दनले १४ बुँदे फरक प्रस्ताव राखेका थिए ।  जनार्दनको प्रस्तावको समर्थनमा टेकेन्द्र भट्ट, रामबहादुर देउकर, लालबहादुर सोडारी, रामप्रसाद तिमिल्सिना लगायत अधिकांश नेताहरू रहेको ती सदस्यले दाबी गरे ।

केन्द्रीय समिति बैठक बस्नुअघि सबै प्रदेशमा परामर्श बैठक राख्ने स्थायी समिति बैठकको निर्णयअनुसार बुधबार र बिहीबार सुदूरपश्चिमको बैठक राखिएको हो । बैठकमा उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिएपछि बिहीबार बैठक सकिनेछ । 

बैठकमा भाग लिन प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, उपमहासचिवहरू वर्षमान पुन, जनार्दन शर्मा लगायत पदाधिकारी धनगढीमा पुगेका छन् । ६२ जना केन्द्रीय सदस्य रहेकोमा ३२ जनाले आफ्ना धारणा राखेका छन् । बाँकी ३० जना केन्द्रीय सदस्य र १२ जना पदाधिकारीले बोल्न बाँकी छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु