महामन्त्रीकै हैसियतमा काम गर्ने वातावरण मिलाइदिन भन्दै मुकुल ढकालले दिए रास्वपामा निवेदन

छिनोफानो   सोमबार १७, भदौ २०८१ ११:१८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा। कुमुल ढकालले आफू विरुद्धको कारवाही फिर्ता गर्न माग गर्दै पार्टीमा पुनरावेदन गरेका छन् । रास्वपाले साधारण सदस्यबाट समेत निस्काशन गरेपछि ढकालले पुनरावेदनको पत्र पठाएका हुन् ।

ढकालले पत्रमा आफूलाई महामन्त्री र केन्द्रीय सदस्यमै पुनस्थापन गर्नुपर्ने माग गरेका छन् । आफूमाथि गरिएको कारवाही विधान विपरित रहेको उनको जिकिर रहेको छ । ४ बुँदे पत्रको अन्तिममा उनले आफूलाई ‘रास्वपा महामन्त्री एवं प्रवक्ता’ भनेर हस्ताक्षर गरेका छन् ।

बुँदा नम्बर ४ मा ढकालले लेखेका छन्, ‘मविरुद्ध व्यक्तिगत पूर्वाग्रह राखी प्रतिशोध लिने दुषित अभिप्राय एवं उद्देश्यबाट पार्टीको पदको दुरुपयोग गरी पार्टी विधान एवं कानून विपरित केन्द्रिय समितिको बैठक बसी मउपर कारवाही गर्दा सफाइ पेश गर्ने मौकासमेत प्रदान नगरेको, निर्णय माग गर्दा निर्णय उपलब्ध समेत नगराइ मलाई पार्टीको महामन्त्री, प्रवक्ता तथा केन्द्रिय समितिको सदस्यबाट पदमुक्त गर्ने गरी भएको मिति २०८१/०३/२५ को कथित निर्णय त्रुटिपुर्ण रहेको हुँदा पार्टीको निर्णय अभिलेखबाट हटाई साविक बमोजिम साविककै पदिय हैसियतमा रही पार्टीमा काम गर्ने वातावरण मिलाइपाउँ ।’

रास्वपाको विधानको धारा ५७ मा कारवाही चित्त नबुझेको खण्डमा पुनरावेदन समितिमा निवेदन दिन सकिने व्यवस्था छ । उक्त निवेदन उपर समितिले छानविन गरी आफ्नो राय तथा सिफारिस सहितको प्रतिवेदन पार्टी सभापतिलाई पठाउने र त्यस्तो सिफारिसका आधामार सभापतिले अन्तिम निर्णयका लागि केन्द्रीय समितिमा पेश गर्नुपर्छ ।

पुनरावेदनका लागि विधानले कुनै हदम्याद तोकेको छैन । तर, पहिलोपटक ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट बर्खास्त गर्ने निर्णय गरिँदा पुनरावेदनका लागि ३५ दिनको म्याद दिइएको थियो । उक्त म्यादभित्र ढकालले पुनरावेदन गरेनन् । उनले आफ्नो पत्रमा साउन १३ गते मात्रै आफूले आधिकारिकरुपमा कारवाहीको पत्र प्राप्त गरेको उल्लेख गर्दै त्यही मितिबाट ३५ दिन गणना हुने संकेत गरेका छन् ।
रास्वपाले गत भदौ ११ गते ढकाललाई साधारण सदस्यबाट समेत निश्कासन गरिसकेको छ । यो कारवाहीका विषयमा ढकालको पत्रमा केही उल्लेख गरिएको छैन ।

पार्टीका एक पदाधिकारीले साधारण सदस्यबाट हटाउने निर्णयमाथि पुनरावेदनको अवसर रहे पनि अघिल्लो निर्णयको म्याद समाप्त भइसकेको बताए ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु