मुलुकलाई अस्थिरताबाट जोगाउन कांग्रेस–एमाले मिलेका हौँ : प्रकाशशरण

छिनोफानो   सोमबार २४, भदौ २०८१ ०१:०५

डडेल्धुरा : नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा.प्रकाश शरण महतले मुलुकलाई अस्थिरताबाट जोगाउन कांग्रेस–एमाले मिलेको बताएका छन्। सोमबार नेपाल प्रेस युनियन डडेल्धुराले जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अस्थिरताबाट मुलुक जोगाउन दुई ठूला दलबीच सहकार्य भएको बताएका हुन्।

 

 

‘थोरै समयमा पटक–पटक सत्ता परिवर्तन भयो। प्रचण्डजीमा एमाले र कांग्रेसको सहयोगले प्रधानमन्त्री हुने आफू नै हो भन्ने मानसिकता विकसित भयो र त्यसले अस्थिरताको परिवेश निर्माण भयो,’ पूर्व-अर्थमन्त्रीसमेत रहेका महतले भने, ‘अस्थिरताबाट देशलाई जोगाउन एमाले र कांग्रेस एक ठाउँमा उभिएका हुन्। तर कतिपयले दुई ठूला प्रतिस्पर्धीले मिलेर सरकार बनाएको उपयुक्त भएन भन्ने पनि छन्। मलाई यो परिस्थितिले निम्त्याएको परिणम हो।’

उनले कांग्रेस–एमालेको गठबन्धन सरकारले मुलुकलाई स्थिरतातर्फ लैजाने दाबी गरे। पटक–पटक हुने सरकार परिवर्तनले जनतामा रहेको निराशा र असन्तुष्टिलाई कांग्रेस–एमालेको गठबन्धनले चिर्ने प्रवक्ता महतले विश्वास व्यक्त गरे।

‘विस्तारै देशको आर्थिक परिवेश पनि सकारात्मक बन्दै जान्छ भन्ने हामीले अपेक्षा गरेका छौँ। चाँडै सरकारको न्यूनतम साझा कार्यक्रम पनि प्रकाशित हुन्छ,’ उनले भने, ‘यद्यपि, हामीबीचको ७ बुँदे सहमतिमै धेरै कुरा उल्लेख छन्।’

जनतालाई निराशा पर्ने छुट अहिलेको सत्ता गठबन्धनलाई नभएको उनको भनाइ थियो। पूर्वअर्थमन्त्री महतले वर्तमान सरकार जनताका सरोकारका विषयवस्तु र सुशासन प्रत्याभूत गराउनमा केन्द्रित हुनुपर्ने औंल्याए। उनले नेपाली कांग्रेस ०८४ को निर्वाचनमा एक्लै बहुमत ल्याउने गरेर संगठन निर्माणमा लाग्ने पनि बताए।

साथै उनले गिरीबन्धु टी–स्टेट, सहकारी ठगी र नक्कली भुटानी शरणार्थी लगायतका प्रकरणको अनुसन्धानमा सरकारले कानूनी प्रक्रियामा कहीँकतै अवरोध नगर्ने बताए। ‘जो दोषी देखिन्छ ती दोषी हुन्छन् र त्यहीअनुसार कारबाही भोग्छन्,’ उनले भने, ‘जसलाई अनावश्यक रूपमा लान्छाना लागेको छ, उनीहरू दोषी छैनन् भने दोषमुक्त हुन्छन्।’

पश्चिम सेती र पञ्चेश्वर परियोजना निर्माणका लागि सरकार लागिपरेको उल्लेख गर्दै पूर्वअर्थमन्त्री महतले यी परियोजना निर्माणले सुदूरपश्चिममा रोजगारीको सिर्जना गर्ने बताए।  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु