उपसभामुख इन्दिरा रानामगरलाई राजीनामा दिन कांग्रेसकाे सुझाव

छिनोफानो   बुधबार २६, भदौ २०८१ ०१:०४

काठमाण्डौ – नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरलाई राजीनामा दिन सुझाव दिएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले उपसभामुखलाई राजीनामा दिन उपयुक्त हुने सुझाव दिएको हो ।

असम्बन्धित व्यक्तिहरूको भिसाका लागि अमेरिकी दूतावासमा चिठ्ठी लेखेर उपसभामुखले अनुचित काम गरेको बैठकको ठहर छ । उपसभामुख रानालाई पदबाट हटाउने विषयमा कांग्रेस–एमालेबीच सहमति भइसकेको छ । यसैबारे नेताहरूको धारणा बुझ्न देउवाले पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीसँग छलफल गर्नुभएको हो ।

उपसभामुखले ‘पद अनुकूल आचरण नगरेको’ भन्दै कांग्रेस र एमालेले उहाँलाई हटाउने तयारी गरेका हुन् । त्यसका लागि सत्तारूढ दलका सांसदहरूले हस्ताक्षर सङ्कलन गरेका छन् । उपसभामुखले मार्गप्रशस्त नगरेमा उहाँविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सत्तापक्षको तयारी छ ।

उपसभामुखले पद अनुकूलको आचरण नगरेमा एक चौथाइ सदस्यले संसद प्रस्ताव दर्ता गर्न सक्ने र पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधिसभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा पदमुक्त हुने संवैधानिक व्यवस्था छ ।

संवैधानिक परिषद्को अङ्कगणितलाई मध्यनजर गरेर सत्तापक्षले उपसभामुख रानामाथि निशाना साँधेको टिप्पणी भइरहेको छ । यसअघि उपसभामुख रानाले आफ्नो लेटरहेड प्रयोग गरेर भिसाका लागि अन्तर्वार्ताको मिति मिलाइदिन अमेरिकी दूतावासलाई लेखेको पत्र बाहिरिएको थियो । पत्र गएको साउन पहिलो हप्ता सार्वजनिक भएलगत्तै त्यसै बेला पनि संसद्मा यो विषय उठेको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु