एउटै सडकको माटो सफा गर्न बर्सेनि आठ करोड

छिनोफानो   बिहिबार ०३, असोज २०८१ ११:४३

बैतडी, असोज ३ गते । यहाँका चार नगरपालिका र छ वटा गाउँपालिकाले  ग्रामीण सडकको माटो सफा गर्न बर्सेनि आठ करोड रुपियाँभन्दा बढी खर्च गर्दै आइरहेका छन् । गाउँ तथा नगरपालिकाले गएका छ वर्षमा माटो सफाइमा ४८ करोड रुपियाँभन्दा बढी खर्च गरिसकेका छन् । यो रकम पाटन–पञ्चेश्वर दुई लेन कालोपत्रे सडकमा भएको खर्च जतिकै हो । यो वर्ष पनि पालिकाले दसँैंतिहारलक्षित गरी माटो सफा गर्ने तयारी गरिरहेका छन् । 

महालेखाको वार्षिक प्रतिवेदन, २०८१ अनुसार बैतडीका स्थानीय तहले विसं २०८० मा सडक सफाइ र इन्धनमा सात करोड ९० लाख ९९ हजार रुपियाँभन्दा बढी रकम खर्च गरेको पाइएको छ । माटो सफा गरिएका अधिकांश सडक मापदण्ड अनुसार निर्माण भएका छैनन् । यातायात चल्ने रुट स्वीकृतसमेत पाउन सकेका छैनन् । महालेखाको प्रतिवेदनले पुर्चौडी नगरपालिकाका विषयमा टिप्पणी गर्दै भनेको छ, “सडक सफाइ गर्न ३२ हजार ४०१ लिटर इन्धनमा ५७ लाख २० हजार ५८३ रुपियाँ खर्च गरी ७४ हजार ९८७ धनमिटर माटो सफा गर्दा ७६ लाख ३३ हजार ९४३ रुपियाँ खर्च भएको छ । लागतको तुलनामा वास्तविक काम भएको देखिएन । यस्तो खर्च नियन्त्रण गर्नु पर्छ ।”  

दोगडाकेदार गाउँपालिकाले सडक सफाइ स्वयंसेवक नै नियुक्त गरेर वार्षिक ६६ लाख ८० हजार रुपियाँ खर्च गर्दै आएको विषय पनि नियमसङ्गत नभएको महालेखाले जनाएको छ । स्थानीय तहको सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ मा अस्थायी दरबन्दी सिर्जना गरेर करारमा कर्मचारी राख्न नपाइने भए पनि दोगडाकेदार गाउँपालिकाले १४५ जना करारका कर्मचारी भर्ना गरेर वार्षिक दुई करोड ३३ लाख ७९ हजार ६२० रुपियाँ खर्च गर्दै आइरहेको छ । जसमध्ये १६ जना स्विपर र ३९ जना सडक सफाइ स्वयंसेवक भर्ना गरेको महालेखाले जनाएको छ । 

गत वर्ष सडक सफाइ र इन्धनमा डिलासैनी गाउँपालिकाले ६० लाख ८८ हजार रुपियाँ, दशरथचन्द नगरपालिकाले ७५ लाख ९० हजार रुपियाँ, सुर्नया गाउँपालिकाले २४ लाख १४ हजार रुपियाँ, सिगास गाउँपालिकाले ७३ लाख रुपियाँ, गाडी भाडा ११ लाख रुपियाँ, पाटन नगरपालिकाले ३७ लाख ७६ हजार रुपियाँ, शिवनाथले सडक मर्मत र सफाइमा ६७ लाख रुपियाँ, पञ्चेश्वर गाउँपालिकाले सडक सफाइ, इन्धन र उपकरण मर्मत गरेर ५९ लाख रुपियाँ, मेलौली नगरपालिकाले सडक सफाइ र उपकरण मर्मतसमेत गरी ३३ लाख रुपियाँ खर्च गरेका छन् । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु