प्रहरीमा छविको बयान : ‘गोर्खा मिडियामा सहकारीको रकम ल्याउने आइडिया रविकै हो’

छिनोफानो   बुधबार ०९, असोज २०८१ ०८:४६

काठमाडौँ —सहकारी ठगी तथा संगठित अपराधमा अनुसन्धानमा सघाउन केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पोखरा पुगेको छ । सूर्यदर्शन सहकारीको बचत गोर्खा मिडियामा ल्याएर अपचलन गरेको आरोपमा प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौंमा पक्राउ गरी कास्की पुर्‍याइएपछि सीआईबीले इन्स्पेक्टर शिशिर थापा र सई रवि घिमिरेलाई पनि पोखरा खटाएको हो । 

जोशीलाई संगठित अपराध र ठगीमा थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले प्रहरीलाई सोमबार पाँच दिनका लागि अनुमति दिएको छ । कास्की प्रहरीका अनुसार जोशीसँग जिल्ला सरकारी वकिल कार्यालयको रोहवरमा प्रारम्भिक बयान सुरु गरिएको छ ।

बयानमा जोशीले आफू सुरुवाती चरणमा गोर्खा मिडियामा सञ्चालक समिति उपाध्यक्ष बनेको र छोटो समयमै लामिछाने र राईबाट अलग भएर बाहिरिएको बताएका छन् । ‘सहकारीको रकम गोर्खा मिडियामा ल्याउने र त्यसको तजबिजी रवि र जीबीबाटै भएको हो, म सुरुवाती चरणमा सञ्चालक समिति उपाध्यक्ष थिएँ, गलत संगतमा परेको बुझेर बेलैमा बाहिरिएँ,’ जोशीको भनाइ उद्धृत गर्दै एक प्रहरी अधिकारीले भने, ‘जीबीले त सहकारीबाट रकम निकाल्दै आएका हुन्, गोर्खा मिडियामा रकम ल्याएर खर्च गर्ने आइडिया रविकै हो । भव्य नाफा हुन्छ भन्दै पावरप्वाइन्टमा देखाएर जीबीलाई उचाल्ने रवि नै हुन् । रविले जीबीलाई भगवान् नै भनेर उचालेका थिए

छविले भनेजस्तै ग्यालेक्सी टेलिभिजनको उद्घाटनका दिन लामिछानेले आफ्नो कार्यक्रम सिधाकुरामा भनेका थिए, ‘टीभी चलाउने लगानी कहाँबाट आयो भनेर क्याउँक्याउँ क्याउँक्याउँ नगर्नुहोला । यो उद्यम व्यवसाय गरेर, सरकारलाई कर तिरेर कमाएको पैसा हो, त्यो नै लगानी गरेको हो ।’ तर अहिले प्रमाणित भएको छ, जीबी र रविले त्यो पैसा काठमाडौं, पोखरा, चितवन, वीरगन्ज र बुटवलका सहकारीबाट ल्याएका थिए । सहकारीबाट कम्पनीमा आएको ६५ करोड ५४ लाख प्रवाह भएको मात्र होइन, सबैजसो रकम लामिछाने आफैंले चेक काटेर खर्च गरेको पनि पुष्टि भएको छ । तर, नाम, ठेगाना, तस्बिर र हस्ताक्षरसहित खाता खोलेका रवि लामिछाने यो खाताप्रति उत्तरदायी नहुने भन्दै उनी नेतृत्वको पार्टी रास्वपाले आफ्नै कार्यकर्तालाई अन्धकारमा राख्न प्रयास गरिरहेको छ ।

गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र तत्कालीन उपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशीले ग्लोबल आईएमई बैंकमा संयुक्त खाता खोली सूर्यदर्शनसहित विभिन्न सहकारीबाट ६५ करोड ५४ लाख लगेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले किटान गरेको छ । प्रतिवेदनले गोर्खा मिडियाका चार सञ्चालक राई, जोशी, लामिछाने र कुमार रम्तेललाई सहकारी ठगी प्रकरणमा कारबाही गर्न सिफारिस गरेको थियो ।

कान्तिपुर दैनिकबाट साभार

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु