गौरीफन्टा नाकामा आवागमन सहज बनाइयो

छिनोफानो   बुधबार १६, असोज २०८१ १०:१८

नेपाल–भारत गौरीफन्टा नाकामा आवागमन सहज बनाइएको छ । बेलुका ८ बजेबाट दुवै देशतर्फको भन्सार कार्यालय बन्द हुँदै आएकोमा चाडपर्वलक्षित गरी आवागमन सहज बनाइएको हो । 

भारतमा भन्सार लाग्ने मालवस्तु साथमा नभएका नेपाली नागरिकलाई तोकिएको समयपछि पनि आउन दिने दुवै देशका सुरक्षाकर्मीको गौरीफन्टामा बसेको समन्वयात्मक बैठकले निर्णय गरेको छ । ८ बजेपछि भन्सार कार्यालय बन्द गरेर आवागमन रोक्दा चाडपर्व मनाउन स्वदेश फर्किने नेपालीलाई समस्या भएको थियो । 

भारतको विभिन्न सहरबाट फर्किनेलाई समस्या नहोस् भनेर सहजीकरण गर्ने र जुनसुकै समयमा आउन दिने सहमति भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेयले बताउनुभयो । “बाटोमा ढिलाइलगायत यावत् कुराले नेपालीहरू राति पनि गौरीफन्टा पुग्ने गर्छन,” उहाँले भन्नुभयो, “उनीहरूलाई सीमामा रोक्दा बसोबासको समस्याका साथै लुटपाटलगायत अन्य समस्या हुन सक्ने भएकाले चाडपर्वसम्मलाई आउन दिने सहमति भएको छ ।” 

यसै गरी दसैँ, तिहार, छठलगायतका पर्व मनाउनका लागि फर्किने नेपालीमाथि सीमा क्षेत्रमा लुटपाट हुन नदिन दुवै देशका सुरक्षा अधिकारीले सहजीकरण गर्ने बैठकमा सहमति भएको छ । चाडपर्व मनाउनका लागि स्वदेश फर्किने क्रममा विगतमा सीमा क्षेत्रमा नेपालीहरू लुटिने, ठगिने जस्ता थुप्रै घटना भएका छन् । स्वदेश फर्किने नेपालीलाई नाकामा कुनै समस्या हुन नदिन सशस्त्र प्रहरीको हेल्प डेस्कले सहयोग गर्ने सशस्त्र प्रहरी उपरीक्षक पाण्डेयले बताउनुभयो । 

बैठकमा नेपाल–भारत दुवै देशका सुरक्षाकर्मीले सीमा क्षेत्रमा दशगजा तथा सीमा अतिक्रमण हुन नदिने प्रतिबद्धता जनाएका छन् । यस्तै दुवै देशका सुरक्षा निकायबिच खबर आदानप्रदान गर्ने, सीमा इलाकामा संयुक्त गस्ती गर्ने, सीमास्तम्भको सुरक्षा गर्ने तथा सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने सहमति भएको छ । अवैध रूपमा खोटा अपचलन, अवैध हातहतियार, सामान, लागुऔषध ओसारपसार तथा मानव तस्करी नियन्त्रण गर्ने सहमति भएको जनाइएको छ । यसै गरी बैठकमा विदेशी घुसपैठ तथा अपराध रोकथामका विषय छलफल भएको थियो । 

समन्वयात्मक बैठकमा नेपालबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलाली र नम्बर ३५ गण हेडक्वाटर कञ्चनपुरबाट सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेय, कञ्चनपुरका गणपति सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्रबहादुर चन्दको सहभागिता रहेको थियो । यस्तै प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक विष्णुराज उप्रेती, फूलबारी, बङ्ग्राकटान, डोके बजार बिओपी प्रमुखको सहभागिता रहेको थियो । 

यसै गरी भारतीय सशस्त्र सीमा बल (एसएसबी) ३९ औँ बटालियनका डेपुटी कमान्डेट विजयकुमारसहित एसएसबी ‘ए’ कम्पनी गौरीफन्टाका इन्स्पेक्टर विसन दास र एसआई नरेश कुमारको उपस्थिति रहेको थियो । प्रत्येक एक/एक महिनामा संयुक्त बैठक बसेर दुवै देशका सुरक्षा अधिकारीबिच विविध पक्षमा छलफल हुने गरेको छ ।   

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु