घर फर्कने नेपालीसँग नाकामा पैसा असुल्दै भारतीय भन्सार कर्मचारी

छिनोफानो   शुक्रबार १८, असोज २०८१ ०७:५१

भन्सार कर्मचारी बस्ने खोका छ । त्यहाँ सामान चेकजाँचका नाममा घर फर्कने नेपालीसँग पैसा असुल्ने गरिन्छ । त्यसको केही मिटरवर भारतीय सीमा सुरक्षा बल एसएसबीले पनि सामान चेकजाँच गर्ने गर्छन् । 

‘भित्र बोलाएर सामान चेक गरेपछि पैसा मागे, केका लागि पैसा दिने भनेर प्रतिवाद गर्न खोज्यौँ,’ गौरीफन्टा नाका भएर बिहीबार घर फर्किरहेका सुर्खेतको पञ्चपुरी नगरपालिका बाबियाचौरका मदनबहादुर गुरुङले भने, ‘जाने मन भए देऊ भन्न थाले, के झगडा गर्नु भनेर पैसा तिरेर आयौँ ।’ गुरुङसहित बाबियाचौरका ६ जना सँगै फर्कंदै थिए । पैसा नदिए रोकेर राख्लान् भन्ने डरले ५० देखि सय रुपैयाँसम्म तिरेर आएको त्यही समूहमा रहेका सन्तोष रानामगरले बताए ।

वारि नाकामै सशस्त्र प्रहरीको पोस्ट छ । चाडपर्वलाई लक्षित गरेर सशस्त्र प्रहरी र नेपाल प्रहरीले सीमामा नागरिक सहायता कक्ष पनि सञ्चालनमा ल्याएका छन् । ‘पारि नेपालीसँग पैसा असुल्छन् भन्ने थाहा छ, तर हामीले चाहेर रोक्न सक्ने अवस्था छैन,’ नाकामा खटिएका एक सुरक्षाकर्मीले भने, ‘अलि भनसुन गर्न सक्ने, टाढाबाठा पैसा नतिरेर पनि आउँछन्, सोझासाझालाई डर–त्रास देखाएर पैसा असुलिरहेका छन् ।’ 

सशस्त्र प्रहरी ३४ नम्बर गण धनगढीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेयले नाकामा घर फर्किरहेका नेपालीसँग पैसा असुल्ने गरेको बुझिएपछि यसबारे आफूले भारतीय अधिकारीसँग कुरा गरेको बताएका छन् । भारतीय भन्सार र वनका कर्मचारीले पैसा असुल्ने गरेको गुनासो आएको उनले बताए ।
‘पैसा असुल्ने गरेको सुनिएपछि त्यसलाई रोक्न आफैँ गएर भारतीय भन्सारका कर्मचारीसँग कुरा गरेको छु,’ सशस्त्र प्रहरी उपरीक्षक पाण्डेयले भने, ‘मंगलबार भएको काउन्टरपार्ट मिटिङमा पनि यो कुरा गम्भीरताका साथ उठाएका छौँ ।’ सो बैठकपछि अहिले पैसा असुल्ने कार्य घटेको बुझिएको उनले बताए । रोजगारीका लागि गएकाहरू फर्कने क्रममा केही सामान लिएर आउने र सामान ल्याएको नाममा पैसा असुल्ने कार्य रोक्न भारतीय अधिकारीको ध्यानाकर्षण गराइएको सशस्त्र प्रहरीले जनाएको छ ।

नाकामा आवागमन सहज बनाउन सहायता कक्षसँगै गणबाट नाकामा छुट्टै टोलीसमेत परिचालन गरिएको पाण्डेयले जानकारी दिए । ‘सामान पार गराइदिनेलगायत विभिन्न किसिमले नेपालीबाटै पनि भारतबाट फर्कनेलाई ठग्ने कार्य नहोस् भनेर छुट्टै टोली परिचालन गरिएको छ,’ उनले भने, ‘चाडबाडका वेला भारतबाट फर्कनेको भिड हुन्छ, उनीहरूलाई कसरी सहज गर्ने भनेर प्रयास गरिरहेका छौँ ।’ दसैँ, तिहारजस्ता ठूला चाडबाडको समयमा भारतबाट फर्कनेको नाकामा घुइँचो लाग्ने गरेको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु