सुदूरपश्चिमले लुम्बिनीलाई दियो १८८ रनको चुनौतीपूर्ण लक्ष्य

छिनोफानो   शनिबार २२, मङि्सर २०८१ ११:४४

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जितका लागि लुम्बिनी लायन्सलाई एक सय ८८ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ओभरमा चार विकेटको क्षतिमा एक सय ८७ रन बनायो । 

सुदूरपश्चिमका लागि सईफ जैवले सर्वाधिक ९० रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । उहाँले ६१ बलमा ६ चौका र पाँच छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ३९ रन बनाउनुभयो ।

उहाँले उक्त रन बनाउने क्रममा १९ बलमा चार चौका दुई छक्का हान्नुभयो । यस्तै ब्रान्डन म्याकमुलानले २३, ओपनर विनोद भण्डारीले १७, स्कट कुग्लेजिनले अविजित ११ रन बनाउनुभयो । आरिफ शेख शून्य रनमा पेभेलियन फर्कनुभयो । 

बलिङमा लुम्बिनीका रामोन सिमोन्डले दुई तथा कप्तान रोहित पौडेल र विवेक यादवले एक एक विकेट लिनुभयो । यसअघिका खेलमा ठुलो योगफल खडा गरेपनि लगातार दुई हार खेपेको लुम्बिनी पहिलो जित निकाल्ने लक्ष्यमा छ ।

लुम्बिनी आफ्नो पहिलो खेलमा विराटनगर किङ्ग्ससँग दुई विकेट र दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग १० विकेटले पराजित भएको थियो । आज तेस्रो खेलपनि हारेमा लुम्बिनीको प्ले अफ पुग्ने सम्भावना कमजोर बन्नेछ ।

यता सुदूरपश्चिम लगातार तेस्रो जित निकाल्दै प्ले अफ पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ । यसअघि सुदूरपश्चिमले पहिलो खेलमा विराटनगरलाई ९० रन र दोस्रो खेलमा काठमाडौँ गुर्खाजलाई ७३ रनले हराएको थियो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु