कन्चनपुरका विपिन सकुशल, छिटै घर फर्किने आशा

छिनोफानो   शनिबार २२, मङि्सर २०८१ ११:५७

धनगढी । प्यालेस्टिनी लडाकु समूह हमासले १४ महिनाअघि इजरायलमाथि आक्रमणका क्रममा बन्धक बनाएका कन्चनपुरका विपिन जोशी गाजापट्टीमा रहेको सूचना इजरायल सरकारले प्राप्त गरेको छ । यो सूचना सुनाउँदै इजरायलका लागि नेपाली राजदूत शमुलिक ए बासले जोशी चाँडै नेपाल फर्कने आशा व्यक्त गरेका छन् ।

‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका जोशीलाई हमासले २०२३ अक्टोबर ७ मा अलुमिम किबुजबाट बन्धक बनाएको थियो । त्यसयता उनको अवस्था अज्ञात थियो ।

 

‘उनी जीवितै छन् । यो सत्य हो । उनलाई गाजापट्टीको कुनै स्थानमा राखिएको सूचना पाएका छौं,’ काठमाडौंमा बिहीबार कूटनीतिक पत्रकारसँगको भेटमा नवनियुक्त राजदूत बासले भने । जोशी जिवित रहेको सूचना अरबी मुलुकहरूको स्रोतबाट प्राप्त भएको उनको भनाइ छ ।

 

गाजापट्टीसँग जोडिएको इजरायलको दक्षिणी भेगमा गत वर्षको अक्टोबर ७ ९असोज २०० मा आक्रमण गरेर हमासले जोशीसहित विभिन्न मुलुकका करिब २५० जनालाई बन्धक बनाएर लगेको थियो । आक्रमणमा जोशीसँगै अलुमिम किबुजमा लुकेर बसेका अन्य १० नेपाली विद्यार्थी भने मारिएका थिए ।

बन्धकमध्ये ११७ जनालाई हमासले मुक्त गरिसकेको छ । तीमध्ये धेरैजसो मानवीय सहायताका लागि दुई पटक युद्धविराम हुँदा मुक्त भएका हुन् । मुक्त भएकामा अधिकांश वृद्धवृद्धा र बालबालिका छन् । इजरायली आक्रमणमा ३३ बन्धकको मृत्यु भइसकेको हमासले जनाएको छ । ‘हमासको कब्जामा रहेका नागरिकको रिहाइका लागि पहल भइरहेको छ,’ राजदूत बासले भने ।

इजरायली सञ्चारमाध्यम ‘द टाइम्स् अफ इजरायल’ का अनुसार नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ लिनुअघि इजरायल र हमासबीच सम्झौता गर्ने प्रयास भइरहेको छ । ट्रम्पले जनवरी २० मा शपथ लिँदै छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु