अदालतबारे हामीले बोल्ने कुरा छैन‚ जे गर्छ अदालतले नै गर्छ : प्रधानमन्त्री देउवा

छिनोफानो   बुधबार १०, कार्तिक २०७८ ०१:०४

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले अदालतबारे धेरै टिप्पणी गर्न नमिल्ने बताएका छन्। नेपाल तरुण दलले बुधबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले अदालतमा देखिएको समस्या समाधान गर्ने काम अदालतकै भएको बताए।

‘अदालतको बारेमा हामीले धेरै बोल्ने कुरा छैन‚’ उनले भने‚ ‘अदालतले जे गर्छ, त्यो अदालतको कुरा हो।’

प्रधानमन्त्री देउवाले न्यायालयको सम्बन्धमा उठेका सवालबारे सत्तारुढ गठबन्धनमा छलफल गरेर अघि बढ्ने पनि स्पष्ट पारे। ‘हाम्रो गठबन्धन पाँच पार्टीको छ, जे उठेका सवालहरु छन् न्यायालय सम्बन्धमा। सरसल्लाह, छलफल गर्नेछौं‚ यसमा धेरै कुरा छैन।’

देउवाले गजेन्द्र हमाल कांग्रेसकै भएको दाबी गरे। उनले राजीनामा दिइसकेकाले यस विषयमा टुंगिसकेको बताए। उनले भने, ‘हमाल हाम्रो पार्टीको मान्छे हो। विचारा, बस्न नसक्ने भएपछि राजीनामा दिए।’

प्रधानमन्त्री देउवाले परमादेशको सवाललाई उठाएर सर्वोच्च अदालतका सबै न्यायाधीशहरूले राजीनामा दिनुपर्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश समेत व्यक्त गरे।

‘परमादेश ल्याउने सबैलाई हटाउनु पर्दछ भन्ने गैरजिम्मेवार कुरा गर्नु उचित हुँदैन जस्तो लाग्दछ मलाई‚’ उनले भने‚ ‘अरु कुरा धेरै केही भन्नु छैन।’

प्रधानमन्त्री देउवाले परमादेशबाट संसदीय व्यवस्था, संविधान र सिंगो देशलाई बचाउने काम अदालतका न्यायाधीशहरुले गरेको दावी गर्दै त्यसको विरोध नगर्न पनि एमाले अध्यक्ष ओलीलाई सचेत गराए।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु