चीनले भन्यो–ताइवानलाई राष्ट्रसंघमा सामेल हुने अधिकार छैन

छिनोफानो   बिहिबार ११, कार्तिक २०७८ ११:३५

काठमाडौं, ११ कात्तिक । चीनले ताइवानलाई संयुक्त राष्ट्रसंघमा जोडिने कुनै अधिकार नभएको बताएको छ । अमेरिकाले राष्ट्रसंघमा ताइवानको पनि अर्थपूर्ण सहभागिता हुनुपर्ने आवाज उठाएसँगै चीनले यस्तो जवाफ फर्काएको हो । यसअघि ताइवानका अधिकारीले अमेरिकी प्रतिनिधिसँगको वार्तामा राष्ट्रसंघमा ताइवानको भूमिका हुनुपर्ने इच्छा व्यक्त गरेका थिए ।

बुधबार चीनको बेइजिङस्थित ताइवान मामिला हेर्ने कार्यालयका प्रवक्ता मा सियाओगुआङले राष्ट्रसँगमा सामेल हुने अधिकार ताइवानलाई नभएको बताएका हुन् । ‘राष्ट्रसंघ सावैभाम सत्ता सम्पन्न मुलुकहरुको अन्तर्राष्ट्रिय संगठन हो । ताइवान चीनको एक भाग हो’, उनले भने ।

यसअघि मंगलबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले ताइवानलाई निरन्तर राष्ट्रसंघमा प्रवेश गर्नबाट रोक लगाइएकोमा खेद व्यक्त गरेका थिए । ताइवानले आफूलाई सार्वभौम मुलुक भएको दाबी गर्दै आएको छ । यद्यपि चीनले ताइवानलाई आफ्नै एक प्रान्तको रुपमा लिँदै आएको छ । एजेन्सी

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु