प्रधानमन्त्री शेरबहादुर देउवा र मोदीबीच ग्लास्गोमा भेटवार्ता

छिनोफानो   बुधबार १७, कार्तिक २०७८ ०८:५६

 प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच स्कटल्यान्डको ग्लास्गोमा मंगलबार भेटवार्ता भएको छ । देउवा पछिल्लोपटक प्रधानमन्त्री भएपछि यो उनीहरूको पहिलो भेटवार्ता हो । करिब २० मिनेटको भेटमा दुई देशबीचको राजनीतिक एवं सीमाका विषयमा छलफल नभएको परराष्ट्र स्रोतले बतायो ।

कूटनीतिक स्रोतका अनुसार प्रधानमन्त्री देउवाले नेपाललाई खोप सहयोग गरेकोमा तथा खरिद गरेको खोप आपूर्तिका लागि सहजीकरण गरिदिएकोमा मोदीलाई धन्यवाद दिएका छन् । मोदीले नेपाललाई थप सहयोग र सहजीकरणका लागि तयार रहेको आश्वासन दिएका छन् ।

परराष्ट्र मन्त्रालयले भने भेटवार्ताबारे ट्विटरबाट जानकारी दिएको छ । ‘जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको साइडलाइनमा भएको द्विपक्षीय वार्तामा दुई नेताहरूले द्विपक्षीय सम्बन्ध र सहयोगका विषयमा छलफल गर्नुभएको छ,’ परराष्ट्रले ट्विटमा भनेको छ ।

भारतीय प्रधानमन्त्री कार्यालयले पनि ट्विट गर्दै द्विपक्षीय वार्ता फलदायी भएको उल्लेख गरेको छ । ‘उहाँहरूबीच फलदायी बैठक भयो जसमा जलवायु परिवर्तनसँग विजय हासिल गर्न सँगै कार्य गर्ने र कोभिड– १९ महामारीका विषयमा सामूहिक प्रयास जारी राख्नेलगायत विषय समावेश थिए,’ भारतीय प्रधानमन्त्री कार्यालयले भनेको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले निकट द्विपक्षीय सम्बन्ध थप बलियो बनाउने विषयमा दुई नेताले छलफल गरेको जानकारी दिएका छन् । उनीहरूबीच जलवायु परिवर्तन, कोभिड– १९ तथा त्यसपछिको परिस्थितिमा सहकार्यका विषयमा छलफल भएको उनको भनाइ छ ।

भेटवार्तामा प्रधानमन्त्री देउवाको टोलीमा वातावरण तथा वनमन्त्री रामसहाय यादव, परराष्ट्रसचिव भरतराज पौड्याललगायत सहभागी थिए । भारतीय प्रधानमन्त्री मोदीसँग विदेशमन्त्री डा. एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललगायत अधिकारीहरू सहभागी थिए ।

ग्लास्गोमा भएको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (युएनएफसिसिसी) को २६औं सम्मेलन (कोप– २६) मा सहभागी देउवा र मोदीबीच सुरुमा सोमबारका लागि भेटवार्ता तय भएको थियो । तर, मोदीको व्यस्तताका कारण मंगलबार सरेको हो । सोमबार ग्लास्गोमा सहभागी भएका विभिन्न मुलुकका सरकार प्रमुखहरूसँगको जमघटमा देउवा र मोदीबीच जम्काभेट मात्रै भएको थियो । नयाँ पत्रिका दैनिकबाट

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु