थारू समुदायले हर्षोल्लासका साथ अटवारी पर्व मनाउँदै

  आइतबार २७, भदौ २०७८ ११:०२

भदौ महिनाको कृष्णअष्टमीपछिको शुक्लपक्षको पहिलो आइतबारका दिन थारु समुदायले अतवारी पर्व मनाउने गर्दछन् ।

पर्वका दिन थारु समुदायका पुरुषहरू दिनभरि व्रत बसी साँझ घरमा पवित्र तरिकाले रोटी पकाई दही, फलफूलसाथ अग्नि देवतालाई अपर्ण गरी आफ्ना दिदीबहिनीको नाममा अग्रासन छुट्याई परिकार खाने गर्दछन् ।

यस पर्वमा पाँच पाण्डवमध्ये भीमको पूजा गर्ने गरिन्छ । प्राचीन दाङका राजा दङ्गीशरणको राज्यलाई भीमले शत्रुबाट बचाएको सम्झनामा यो पर्व मनाउन थालिएको पनि भनिन्छ । तर दङ्गीशरणले राज्य गरेको समय भन्दा महाभारतको समय धेरै पहिले भएको अर्काथरीको भनाई छ ।

दाङ, बाँके, बर्दीया, कैलाली र कञ्चनपुरका थारु समुदायले मनाउने यो पर्वको एक दिनअघि पिठो पिस्ने, तोरीको तेल पेल्ने र पाकेको केरा घरमा ल्याउने गरिन्छ ।

यस पर्वको अघिल्लो दिन माछा तथा कुखुराको मासु दरका रूपमा खाने चलन छ । घरभित्र गोवरले लिपपोत गरी गन्यारी भन्ने काठबाट तीन/चार जना मिली आगो बाल्ने गरिन्छ । सोही चोखो आगो सबैले घरघरमा लैजाने गर्दछन् ।

घरमा पकाइएको परिकार घरका सबै व्रतालुको भाग लगाई थप परिकार अग्रासनका रूपमा दिदीबहिनीको घरघरमा पुगेर दिने चलन छ । यसबाट दाजुभाइ र दिदीबहिनीबीचको प्रगाढ स्नेह र ममता झल्किने  थारु समुदायका अगुवाहरुको भनाई  छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु