एमाले महाधिवेशन प्रचारका लागि ७७ जिल्लामा मोटरसाइकल र्‍याली

छिनोफानो   बिहिबार ०२, मङि्सर २०७८ ०८:२४

 नेकपा (एमाले) को १० औं महाधिवेशनको प्रचारप्रसारका लागि देशभर मोटरसाइकल र्‍याली गरिने भएको छ । दशौं राष्ट्रिय महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले चितवनमा हुने महाधिवेशनको प्रचारप्रसारका लागि देशव्यापीरुपमा जिल्ला सदरमुकाममा मोटरसाइकल र्‍याली गरिने बताएका हुन् । र्‍याली यही मंसिर ७ गते हुनेछ ।

महाधिवेशन प्रचारप्रसार सहयोग समिति चितवनले यहाँ बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले विशेष गरी काठमाडौँ–चितवन, बुटवल–चितवन र वीरगञ्ज–चितवन लक्षित गर्दै मोटरसाइकल र्‍याली गर्ने तयारी गरिएको जानकारी दिए । उनका अनुसार मंसिर १० गते १२ बजे नारायणगढ जाऔँ भन्ने आह्वान गर्न र्‍याली आयोजना गर्न लागिएको हो । बागमती, लुम्बिनी र प्रदेश–२ का प्रादेशिक पार्टी र जनसङ्गठनको तहबाट र्‍यालीको संयोजन हुने सो अवसरमा जानकारी दिइएको थियो ।

मंसिर ७ देखि ९ गतेसम्म मुख्य राजमार्गमा आकर्षक स्वागतद्वार निर्माण गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । एक जिल्ला एक स्वागतद्वार निर्माणमा जोड दिइएको उनले जानकारी दिए । मुख्यगरी पूर्व–पश्चिम-उत्तर–दक्षिणबाट चितवनतर्फ लक्षित राजमार्ग र पालिका, मुख्य बजारमा अभियानको रुपमा यसलाई व्यवस्थित गरिने छ ।

एमालेले महाधिवेशनमा कुनै पनि भित्तेलेखन तथा पोष्टर नटाँसेर डिजिटल मिडियाको प्रयोग गरिने संयोजक भट्टराईले बताए । प्रचार समितिले मैथेली, भोजपुरी, अवधि, थारु, तामाङ, चेपाङ, नेपाली र अङ्ग्रेजीलगायतका भाषामा प्रचार ब्यानर र भिडियो क्लिप निर्माण गरिरहेको उनको भनाइ छ ।

पत्रकार सम्मेलनमा एमालेले महाधिवेशनमा कम्तीमा ३० भिडियो तथा अडियो क्लिप र वृत्तचित्र बनाएर प्रचार गर्ने तयारी गरेको छ । एमालेले महाधिवेशनलाई लक्षित गरेर प्रचारप्रसारका लागि सञ्चारमाध्यमका साथै फेसबुक, टिकटक र ट्वीटरलगायतका सामाजिक सञ्चालको प्रयोग गर्ने उनको भनाइ छ ।

उनले सबै कम्युनिष्ट एमालेमा समायोजन गर्दै अघि बढ्न महाधिवेशनले सहयोग पुग्ने बताए । उनले भने, ‘अब कम्युनिष्टहरु वैचारिक र सैद्धान्तिक हिसाबले एउटै पार्टी बन्ने छन् ।’ अहिले देशमा दुई विचार धार रहेको भन्दै उनले अघिल्ला गल्तीलाई नदोहोर्‍याइ एकता गरिने बताए । एमालेको नेतृत्वमा कम्युनिष्ट पार्टी बन्ने उनको भनाइ थियो ।

संयोजक भट्टराईले दर्जनौं देशका राजनीतिक दलका प्रतिनिधिलाई महाधिवेशनमा निमन्त्रणा गरिएको बताए । उनले भने, ‘एशियाका कतिपय देशका राजनीतिक दलका प्रतिनिधि आउने निश्चित गरिसकेका छन्, नेपालस्थित विदेशी नियोगका प्रतिनिधिलाई पनि महाधिवेशनमा निमन्त्रणा गरिसकिएको छ ।’

भट्टराईले देशका ९५ प्रतिशत जिल्लाका विभिन्न सङ्गठनमा महाधिवेशन प्रतिनिधि सर्वसम्मत भइसकेकाले यस पटकको महाधिवेशनमा सर्वसम्मत नै पार्टी नेतृत्व चयन गरिने दाबी गरे ।

प्रचारप्रसार सहयोग समिति गठन

यसैबीच महाधिवेशनको प्रचारप्रसारलाई थप व्यवस्थित गर्न १० औं महाधिवेशन प्रचारप्रसार सहयोग समिति गठन गरिएको छ । प्रदेशसभा सदस्य विजय सुवेदीको संयोजकत्वमा ५१ सदस्यीय चितवन समिति गठन गरिएको हो । समितिको सहसंयोजकमा एमाले नेता केशव रेग्मी र सचिवमा पत्रकार तिलकराम रिमाल रहेका छन् ।(नयाँ पेजबाट)

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु