बझाङमा गाउँपालिकाको स्वास्थ्य शाखामा विद्युत् सर्ट भई आगलागी,औषधि र कम्प्युटरसहितका सामग्री नष्ट

छिनोफानो   शुक्रबार ०३, मङि्सर २०७८ ०९:४३

बझाङको थलारा गाउँपालिकाको स्वास्थ्य शाखामा विद्युत् सर्ट भई आगलागी भएको छ । बिहीबार दिउँसो स्वास्थ्य शाखाको स्टोरमा विद्युत् सर्ट भई आगो लाग्दा स्वास्थ्य शाखा रहेको घर पूर्णरूपमा जलेर नष्ट भएको छ ।

आगोले स्वास्थ्य शाखाको स्टोरमा भण्डारण गरिएको औषधि, सर्जिकल सामान, स्वास्थ्यचौकीले वितरण गर्न ल्याएको पाँच थान ल्यापटप, प्रिन्टर, डेस्कटप कम्प्युटर जलेर नष्ट भएको छ । स्थानीयवासी र प्रहरीको सहयोगमा आगो निभाइएको थियो ।

आगलागीबाट स्वास्थ्य शाखा भवनसँगै रहेको कर्मचारी आवासमा पनि क्षति पुगेको गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताए । उपाध्यायका अनुसार निमित्त प्रमुख प्रशासकीय अधिकृत पदम ओली, सबओभरसियर चक्रबहादुर थापा र खानेपानी तथा सरसफाइ सहजकर्ता भोजराज पाण्डे बस्ने तीन कोठामा रहेका ओड्ने ओछ्याउने, लगाउने कपडालगायत सबै सामान जलेर पूर्णरूपमा नष्ट भएका छन् ।

गाउँपालिकाले घर भाडामा लिएर स्वास्थ्य शाखा सञ्चालन गर्दै आएको थियो । आगलागीबाट के–कति क्षति भयो भन्नेबारे यकिन भएको छैन । क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु