पाकिस्तानका प्रधानमन्त्री खानविरुद्ध अविश्वासको प्रस्ताव पेस

छिनोफानो   बुधबार २५, फागुन २०७८ ०३:३९

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पेस भएको छ । विपक्षी दलहरुको गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम)ले प्रधानमन्त्री खानविरुद्ध अविश्वास प्रस्ताव पेस गरेको बीबीसी हिन्दीले जनाएको छ । विपक्षी दलहरुले उच्च महँगीलाई प्रमुख मुद्दा बनाएर सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याएका हुन् ।

पाकिस्तानको संविधान अनुसार अविश्वास प्रस्ताव पारित गर्न संसदमा साधारण बहुमत भए पुग्छ । पाकिस्तानको संसदमा तीन सय ४२ सदस्य छन् । यसअनुसार अविश्वास प्रस्ताव पारित गर्न पक्षमा एक सय ७२ भोट भए पुग्छ । प्रधानमन्त्री खानको पार्टी पीटीआईसँग संसदमा एक सय ५५ सीट छ । उहाँको सरकार गठबन्धनका सहयोगी दलको समर्थनमा चलिरहेको छ ।

खान नेतृत्वको सरकारलाई पाकिस्तान मुस्लिम लीग कायद–ए–आजम (पीएमएल–क्यू) र मुत्ताहिदा कौमी मुभमेन्टको समर्थन छ । तर यी पार्टीका शीर्ष नेताले सरकारको सार्वजनिक रुपमा आलोचना गर्दै आएका छन् । तर अहिलेसम्म प्रधानमन्त्री खानको विपक्षमा उभिने स्पष्ट संकेत गरेका छैनन् । विपक्षीको विरोधपछि प्रधानमन्त्री खानले पेट्रोल र बिजुलीको मूल्यमा केही कटौतीको निर्णय गर्नुभएको छ । खान सन् २०१८ अगष्टमा प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु