बेलायतमा इन्धन संकट चर्किँदै, पेट्रोलपम्पमै कुटाकुट

छिनोफानो   आइतबार १०, असोज २०७८ ०२:२०

काठमाडौं । केही दिनदेखि बेलायतभर पेट्रोल र डिजेल आपूर्तिमा संकट देखिएको छ । चालकको अभावले गर्दा पेट्रोल आपूर्तिमा संकट देखिन थालेको हो ।

क्रिसमस आउन केही महिना मात्रै बाँकी रहेको बेला इन्धन संकट देखिन थालेपछि पेट्रोल पम्ममा उपभोक्ताहरूको भीड लाग्न थालेको छ ।

अप्रत्यासित भीडभाड हुन थालेसँगै संकट व्यवस्थापनका लागि बेलायत सरकारले प्रयास गरिरहेको छ । प्रधानमन्त्री बोरिस जोनसनले सामान ढुवानी गर्ने ठूला सवारीसाधनका चालकको तलब बढाउन सम्बन्धित निकायलाई अनुरोध गरेका छन् ।

जोनसनले एचजिभीका मालिकसँग यस्तो आग्रह गरेको बेलायती समाचार माध्यमले जनाएका छन् । त्यस्तै, सरकारी अधिकारीहरूले अवकाशप्राप्त ४० हजार चालकहरूलाई पुन: काममा फर्किन आग्रह गरेका छन् ।

अन्य मुलुकबाट समेत चालक ल्याउने गरी आप्रवासन नियम खुकुलो बनाउने तयारी समेत भइरहेको समाचारमा उल्लेख छ । आपूर्ति चक्रमा देखिएको संकट समाधानका लागि १० हजार विदेशीलाई तत्काल भिसा दिने तयारी गरिएको छ । यातायात मन्त्री ग्रान्ट शाप्सले आगामी महिनादेखि विदेशीलाई भिसा दिन सुरु गरिने बताएका छन् ।

ढुवानी क्षेत्रमा झण्डै ९० हजार चालकको अभाव भएकाले क्रिसमसको समयमा इन्धन आपूर्ति अवरुद्ध हुन सक्ने चेतावनी बिक्रेताहरूले दिएका छन् । यस्तो अवस्था आउनबाट रोक्न सरकारसँग केबल १० दिन मात्रै बाँकी रहेको भन्दै उनीहरूले यस्तो चेतावनी दिएका हुन् ।

आपूर्ति चक्रमा देखिएको भद्रगोलबीच निराश बन्दै गएका चालकले सडक अवरुद्ध गर्न थालेपछि बिक्रेताहरूले सरकारलाई सचेत गराएको समाचारमा उल्लेख छ ।

झण्डै १०० वटा पेट्रोल पम्प खाली भएसँगै सरकारले मानिसहरूलाई नआत्तिन आग्रह गरिसकेको छ तर मानिसहरूले इन्धन भर्नका लागि तँछाडमछाड गरिरहेका छन् । यसैबीच आक्रोशित मानिसबीच सिडलशामस्थित एक पेट्रोल पम्पमा हानाहान भएको फुटेज बाहिर आएको छ ।

सिकेस्टारस्थित पेट्रोल पम्पअगाडि पेट्रोल लिन आएका मानिसबीच मुक्का र लात्ती हानाहान गरेको फुटेजमा देख्न सकिन्छ। दुई जनाले पहिला घम्साघम्सी गरेको र पछि मुक्का हानाहान गरेका छन् । यसै क्रममा अर्का एकजनाले उडेर लात्ती हानेको देख्न सकिन्छ ।

उक्त घटनामा एक बाबु-छोराले अर्का एकजना बाबु-छोरासँग हानाहान गरेको समाचारमा उल्लेख छ। के कारणले उक्त घटना भएको थियो भन्ने प्रस्ट भइसकेको छैन । तर उनीहरूले आपसमा जाइलाग्दा अन्य मानिसले ‘कत्ति पनि डिजेल छैन रे ‘ भनेर होहल्ला गरेको सुन्न सकिन्छ ।

एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु