काठमाडौं । त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशविरुद्ध आफूले पाएको प्लेयर अफ द म्याच अवार्ड बसिर अहमदलाई दिएका छन् ।
कर्णालीलाई १६४ रनले हराउने क्रममा विनोदले शतक पूरा गरेका थिए । बसिर भने २ रनले शतक बनाउनबाट चुकेका थिए ।
एक समय ११०–५ को अवस्थामा पुगेको आर्मीलाई छैटौं विकेटका लागि विनोद र बसिरले १६९ रनको अविजित शतकीय साझेदारी गरेका थिए ।
जसमा विनोद भण्डारीले १३२ बलमा ६ चौका र ३ छक्कासहित १ सय रनको अविजित शतकीय इनिङ खेलेका थिए । बसिर अहमदले ९२ बलमा १२ चौका र १ छक्कासहित ९८ रनको अविजित इनिङ खेलेका थिए
खेलपछि विनोद प्लेयर अफ द म्याच चुनिए । तर उनले त्यो प्लेयर अफ द म्याच अवार्ड बसिर अहमदलाई दिएका छन् ।
एक समय ४३ औं ओभरमा विनोद भण्डारी ८६ रनमा खेल्दा बसिर ४९ रनमा क्रिजमा थिए । त्यसपछि बसिरले रनको गति बढाउदा विनोदले केहि संघर्ष गरेका थिए ।
४६ औं ओभरमा बसिरले प्रकाश जैसीलाई दुई चौका र १ छक्का हानेका थिए । बसिरले एक एन्डबाट आक्रामक क्रिकेट खेल्दै शतकको सम्भावना देखाए । एक ओभरको खेल बाँकी हुँदा बसिर ९२ र विनोद ९७ रन बनाएर खेलेका थिए ।
अन्तिम ओभरको चौथो बलमा बसिरले जैसीलाई चौका हाने । पाँचौं बलमा बसिरको क्याच छुटेपछि दुबै ९८–९८ रनमा पुगेका थिए । अन्तिम बलमा विनोदले दुई रन बटुल्दै शतक पूरा गरेका थिए ।
‘मेरो शतक भए पनि मलाई उसको इनिङ ठिक लागेको थियो । एकतर्फबाट विकेट गुमेको थियो । उ आएपछि राम्रो पनि भयो । प्लेयर अफ द म्याच हुन म भन्दा पनि उ योग्य थियो भन्ने मलाई लाग्यो, त्यसैले मेले उसलाई दिएको हुँ, विनोदले खेलपछि भने ।
प्रतिकृया दिनुहोस