तनहुँमा नयाँ शिक्षकको दरबन्दी निर्धारण

छिनोफानो   बुधबार २१, चैत २०८० ११:४७

शिक्षक सेवा आयोगबाट तनहुँका लागि सिफारिस भएका प्राथमिक तहका स्थायी शिक्षकको स्थानीय तहमा दरबन्दी निर्धारण गरिएको छ । स्थानीय तहको आवश्यकताका आधारमा प्राथमिक तह तृतीय श्रेणीका शिक्षकहरुको दरबन्दी निर्धारण गरिएको शिक्षा विकास तथा समन्वय इकाइ तनहुँले जनाएको छ ।

स्थायी नियुक्तिका लागि सिफारिस भई आएका दुई सय ६१ जना शिक्षकको स्थानीय तहमा दरबन्दी निर्धारण गरिएको छ । शिक्षकको आवश्यक भएअनुसार स्थानीय तहमा दरबन्दी निर्धारण गरिएको इकाई प्रमुख उद्धवराज कट्टेलले जानकारी दिनुभयो ।

जिल्लाका नौ स्थानीय तहमध्ये सबैभन्दा बढी ऋषिङ गाउँपालिकामा ५१ जना र सबैभन्दा कम व्यास नगरपालिकामा १९ शिक्षकको दरबन्दी निर्धारण भएको छ । बन्दीपुर गाउँपालिकाका ३७, भानु नगरपालिकामा २८, शुक्लागण्डकी नगरपालिकामा २२, भिमाद नगरपालिकामा ३३, घिरिङ गाउँपालिकामा ३६ र देवघाट गाउँपालिकामा ३५ गरी  दुई सय ६१ शिक्षकको दरबन्दी निर्धारण गरिएको छ ।

म्याग्दे गाउँपालिका र आँबुखैरेनी गाउँपालिकामा माग नआएकाले निर्धारण गरिएको छैन । स्थानीय तहलाई दरबन्दी सङ्ख्या निर्धारण भएपछि आफूले चाहेको पालिकामा जानका लागि सिफारिस भएर आएका शिक्षकले इकाईमा निवेदन दिइसकेकोले पालिका छनोटमा परेका शिक्षकलाई यही चैत्र २५ गते आईतबार नियुक्तपत्र प्रदान गरिने इकाई प्रमुख कट्टेलले बताउनुभयो ।

इकाई प्रमुख कट्टेलका अनुसार पालिका छनोटपछि  अपाङ्गता क र ख नम्बरको कार्ड पाएका शिक्षकले रोजेको विद्यालय पाउन प्राथमिकतामा पर्नेछन् । त्यसपछि महिला शिक्षकले योग्यता क्रम अनुसार प्राथमिकतामा पाउने छन् भने पुरुष शिक्षकले योग्यता क्रमको आधारमा विद्यालय रोज्न पाउने छन् ।

गोरखापत्र अनलाइन

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु