सिकाइ उपलब्धिका लागि नमुना परीक्षा

छिनोफानो   शनिबार २०, पुष २०८१ ०१:३८

बाजुराको त्रिवेणी नगरपालिका वडा नं –४ तोली देवलडाँडा माविले यहाँका पाँच, आठ र दस कक्षाका बालबालिकाको सिकाइ उपलब्धिका लागि प्रत्येक शनिबार नमुना परीक्षा लिन सुरु गरेको छ ।

बालबालिकाको सिकाइ उपलब्धि तथा लेखन सिप वृद्धि गर्नुका साथै अन्तिम परीक्षामा उनीहरू नडराउन र जानेको कुरा पनि राम्रोसँग लेख्न सकुन भन्ने उद्देश्यले यती बेला तोली देवल डाँडा माविले प्रत्येक शनिबार यो नमुना परीक्षा लिने गरेको हो ।

यस अघि यहाँका बालबालिकाले ती छ र अन्तिमको वार्षिक परीक्षामा डराउने र उनीहरू जानेको कुरा पनि लेख्न नसक्ने भएकाले यती बेला त्यसलाई मध्यनजर गर्दै उनीहरूको त्यो परीक्षामा राम्रोसँग लेख्न सक्ने क्षमताको वृद्धि विकास हुने गरी महिनाको प्रत्येक शनिबार परीक्षा लिने गरेको तोली देवलडाँडा माविले जनाएको छ ।

यहाँ योभन्दा पहिला प्राय तीन र छ महिना मात्र परीक्षा हुने गरेकाले अन्तिममा हुने वार्षिक परीक्षामा विद्यार्थी डराउने गरेका छन् ।

अहिले प्रत्येक हप्तामा लिने गरेको परीक्षाले यहाँका विद्यार्थीको मनमा हुने त्यो डर विस्तारै हटेको तोली देवल डाँडा माविका कक्षा–१० का छात्रा एलिजा साउँदले बताउनुभयो ।

उहाँले भन्नुभयो, “लामो समय पछि परीक्षा हुने गरेको एक दुई महिना मात्र राम्रोसँग किताब पढ्ने गरेको थियो । अहिले प्रत्येक शनिबारमा परीक्षा हुने गरेपछि दिनानु दिन किताब पढ्ने बानीको समेत विकास भएको छ ।”

यो भन्दा पहिला विद्यालयमा पढाएको कुरा घरमा पुग्दा ध्यानमा रहँदैन थियो । अहिले शनिबारमा परीक्षा हुने गरेपछि विद्यायमा पढाएको त्यो कुरा घरमा पुग्दासम्म ध्यान हुने गरेको छ । जसका कारण अहिले मेरो पढाईमा समेत निकै सुधार आएको साउँदले बताउनुभयो ।

यसरी प्रत्येक हप्ताको शनिबारको दिनमा नमुना परीक्षा लिनेमा यो तोली देवल डाँडा मावि पहिलो रहेको छ । यो विद्यालयले यसरी हप्ताको शनिबारमा परीक्षा लिने र विद्यार्थीले त्यो परीक्षामा नजानेको फेरि कक्षामा आएर राम्रोसँग सिकाउने गरेपछि अहिले यहाँका बालबालिकाको पढाईमा समेत परिवर्तन भएको छ ।

शैक्षिक सत्र २०८० मा यस विद्यालयमा नगर स्तरीय परीक्षामा समावेश भएका कक्षा आठका ५७ जना विद्यार्थीमा ३५ जना पास भएका थिए भने त्यसैगरी एसइईमा पनि ५६ जनामा ३२ जना विद्यार्थी राम्रोसँग उत्तीर्ण भएको तोली देवल डाँडा माविका प्राधानाध्यापक विष्णुप्रसाद ओझाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो अन्य विद्यालयभन्दा राम्रो उपलब्धि हो । तैपनि हामीले यसलाई थप प्रोत्साहित गर्ने गरी र यती बेला त्यो भन्दा बढी विद्यार्थी उत्तीर्ण गर्ने गरी अहिले त्यसको तयारी गर्ने गरी यो नमुना परीक्षा लिन गरेको हो ।”

यो परीक्षाले यहाँका नगर स्तरीय परीक्षमा समावेश हुने आठ कक्षा र एसइईमा समावेश हुने दश कक्षाका विद्यार्थीलाई निकै राहत हुने भएको छ । शैक्षिक शत्र २०८१ सालको नयाँ भर्नामा चार सय चार छात्रा र तीन सय उनान्चास छात्र गरी अहिले सात सय त्रिपन्न जना विद्यार्थी अधययनरत रहेको तोली देवल डाँडा माविका प्राधानाध्यापक ओझाले बताउनुभयो ।

यसरी विद्यालयले प्रत्येक हप्तामा लिने गरेको यो नमुना परीक्षाले यहाँका बालबालिकाको आनी बानी सँगसँगै पढाईमा पनि सुधार आउन थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा त्रिवेणी नगरपालिका वडा नं –४ का वडा अध्यक्ष गणेश साउँदले बताउनुभयो ।

गोरखापत्र अनलाइन

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु