आइसिसी टी–२० विश्वकप क्रिकेट : पहिलाे खेलमा आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

छिनोफानो   मङ्गलबार २२, जेठ २०८१ ०४:२१

दोस्रोपटक आइसिसी टी–२० विश्वकप क्रिकेटमा सहभागी नेपालले मंगलबार समूह ‘डी’ मा बलियो प्रतिद्वन्द्वी नेदरल्यान्ड्सको सामना गर्दै छ । अमेरिकाको डालासमा नेपाली समय अनुसार राति ९ः१५ बजे खेल हुनेछ । यी दुबै टोलीले समूहको पहिलो खेलमा जितका साथ प्रतियोगिता सुरुवात गर्न चाहन्छन् । नेपालको समूहमा टेस्ट्र खेल्ने राष्ट्र दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् ।  

नेपालको तुलनामा नेदरल्यान्ड्सको विश्वकपमा अनुभव धेरै छ । उसको यो छैटौँ विश्वकप सहभागिता हो । नेपालले सन् २०१४ मा विश्वकपमा डेब्यु गरेको थियो । त्यसवेला नेपालले हङकङ र अफगानिस्तानमाथि जित निकालेको थियो । पछिल्लो समय नेपाली टोलीमा देखिएको लयले नेदरल्यान्ड्सलाई दबाब बनाउनेछ । नेपालका कप्तान रोहितकुमार पौडेलले जितको रणनीतिका साथ प्रतिस्पर्धा गर्ने बताए । 

‘लामो समयदेखि हामीले तयारी गरिरहेका छौँ । पहिलो खेल सानदार बनाउन चाहन्छौँ,’ डालासमा उनले अन्तर्राष्ट्रिय एजेन्सीलाई भने, ‘हामीले विश्वकपमा देखाउने समय आएको छ । सबै खेलाडी उच्च मनोबलका साथ खेल्नेमा विश्वस्त छौँ ।’ नेपालले पछिल्लो पाँच टी–२० खेलमध्ये साउदी अरेबिया, हङकङ र कतारलाई हराएको थियो । हङकङ र युएईसँग नेपाल पराजित भएको थियो । नेदरल्यान्ड्सले पछिल्लो भेटमा नेपाललाई चार विकेटले हराएको थियो । 

नेदरल्यान्ड्सविरुद्ध पछिल्लो भेटमा ओपनर आसिफ सेखले ४७ बनाएका थिए । योपटक प्रतिश जिसीको स्थानमा अभिनाश बोहराले स्थान लिन सक्छन् । प्रशिक्षक मोन्टी देसाईले ओपनिङमा आसिफ सेख र कुशल भुर्तेललाई पहिलो प्राथमिकतामा राखेका छन् । तेस्रो नम्बरमा अनिलकुमार शाह र चौथोमा कप्तान रोहितले ब्याटिङ गर्ने सम्भावना छ । कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी र सन्दीप जोराले मध्यक्रम सम्हाल्नेछन् । अलराउन्डतर्फ सोमपाल कामी र करण केसी छन् । स्पिनर विशेषज्ञ ललित राजवंशीले प्लेइङ ११ मा स्थान बनाउने सम्भावना छ । 

नेदरल्यान्ड्सको छैटौँ विश्वकप 
नेदरल्यान्ड्सले यसअघिका पाँच संस्करणमा कुल २३ खेलमा १३ हार व्यहोरेको थियो । गत वर्षको एकदिवसीय विश्वकप ग्लोबल छनोटमा नेदरल्यान्ड्सले सनसनी रूपमा वेस्ट इन्डिजलाई हराएको थियो । स्कट एडवार्डको कप्तानीमा रहेको नेदरल्यान्ड्सलाई ब्याटिङ अल राउन्डर बास डी लिड, वेस्ली बारेसी, बलर आर्यन दत्त, अलराउन्डर सेब्रान्ड इन्गेलब्रेच, ओपनर म्याक्स ओ डाबड तथा विक्रमजित सिंह खेलाडीको साथ छ । पछिल्लो पाँचमध्ये तीन खेल नेदरल्यान्ड्सले गुमाएको छ । टी–२० विश्वकपको तयारी गर्न खेलेको त्रिदेशीय शृंखलामा आयरल्यान्डसँग नेदरल्यान्ड्स दुवै खेलमा पराजित भएको थियो । 

हेड टु हेडमा नेपाल कमजोर
हेड टु हेडमा नेदरल्यान्ड्स बलियो देखिएको छ । दुई टोलीबीच टी–२० आईमा १२ खेल भएका छन् । नेदरल्यान्ड्सले ६ र नेपालले पाँच खेल जितेका छन् । एक खेलमा नतिजा निस्किएन । नेदरल्यान्ड्सले पछिल्लो पाँचमध्ये तीन खेलमा नेपाललाई हराएको छ ।

नेपालले दुई खेलमा जित निकाल्यो । यी दुई टोलीबीच अन्तिम भेट ५ मार्च २०२४ कीर्तिपुरमा प्रतिस्पर्धा भएको थियो । त्रिदेशीय शृंखलामा नेदरल्यान्ड्स चार विकेटले विजयी भएको थियो । नेपालले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ८५ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा नेदरल्यान्ड्सले १९.३ ओभरमा ६ विकेट गुमाउँदै जित निकालेको हो । 

विश्वकपमा नेपालको प्रदर्शन
विश्वकपमा नेपालले हालसम्म तीन खेल खेलेको छ । जसमा दुई खेल जित्दा एक खेलमा हार व्यहोरेको थियो । सन् २०१४ को विश्वकपमा नेपाल झिनो रनरेटमा बंगलादेशसँग पछि पर्दा शीर्ष दशमा स्थान बनाउन चुकेको थियो । विश्वकपको डेब्यु खेलमा नेपालले हङकङलाई ८० रनले पराजित गरेको थियो । बंगलोदशसँग भएको दोस्रो खेलमा नेपाल ८ विकेटले पराजित भयो । अन्तिम खेलमा अफगानिस्तानलाई ९ रनले हराएको हो । 

खेल    जित    हार
३    २    १

विश्वकपमा नेदरल्यान्ड्सको प्रदर्शन 
विश्वकपमा नेदरल्यान्ड्स छैटौँपटक सहभागी हुँदै छ । टोलीले सन् २०१० देखि विश्वकप खेलेको हो । तर, सुपर १२ बाट माथि बढ्न सकेको छैन । हालसम्म २३ खेल खेल्दा मात्र ९ जित निकालेको छ । १३ खेलमा हार व्यहोर्दा १ खेलमा जित निकालेको हो । 
खेल    जित    हार    नतिजाविहीन
२३    ९    १३    १

उत्कृष्ट खेल्छौँ 
रोहितकुमार पौडेल, कप्तान, नेपाल 

विगत लामो समयदेखि हामीले तयारी गरिरहेका छौँ । नेदरल्यान्ड्सँगको खेलका लागि तयार छौँं । अभ्यास खेलबाट खेलाडीले एक–आपसमा धेरै बुझ्न अवसर पाए । हाम्रो लक्ष्य विश्वकपमा राम्रो नतिजा निकाल्ने हो । हामीभन्दा नेदरल्यान्ड्सको तयार राम्रो छ । यसपटक नेपालसमक्ष टेस्ट राष्ट्रलाई हराउने अवसर छ । 

प्लेयर्स टु वाच
कुशल मल्ल (नेपाल)

अलराउन्डर कुशल मल्ल आशा गरेका खेलाडी हुन् । २० वर्षीय उनी परस्थितिअनुसार ब्याटिङ गर्न सक्छन् । पछिल्लो समय बलिङमा पनि उनको प्रदर्शन सानदार रहेको छ । बायाँहाते बलरले ३९ अन्तर्राष्ट्रिय खेलमा एक शतक र चार अर्धशतक बनाएका छन् । उनले सात सय ७१ रन बनाएका छन् । बलिङतर्फ २५ इनिङ्समा उनले १९ विकेट हात पारेका छन् ।   

माइकल लेभिट (नेदरल्यान्ड्स)
२० वर्षीय ओपनर माइकल लेभिट उच्च लयमा छन् । दायाँहाते बलरले नेदरल्यान्ड्सबाट ९ टी–२० आई खेलेका छन् । उनले एक शतक र २ अर्धशतकको सहयोगमा ३ सय ४९ रन जोडेका छन् । नेपालविरुद्ध लेभिटले नेपालविरुद्ध दुई अर्धशतक बनाएका छन् । डेब्यु खेलमै नेपालविरुद्ध ५४ रन बनाएका हुन् । त्यसैले पनि डच टोलीले अलरान्डर लेभिटलाई विश्वास गर्नेछ । 

दक्षिण अफ्रिकाको संघर्षपूर्ण जित
 आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार समूह ‘डी’ मा दक्षिण अफ्रिकाले श्रीलंकामाथि ६ विकेटको जित निकालेको छ । न्युयोर्कमा पहिलो ब्याटिङ गरेको श्रीलंकाले १९.३ ओभरमा सवै विकेट गुमाएर ७७ रनको झिनो योगफल खडा गरेको थियो । प्रत्युत्तरमा दक्षिण अफ्रिकाले १६.२ ओभरमा चार विकेटको क्षतिमा जित ८० रन जोड्दै जित निकाल्यो । 

दक्षिण अफ्रिकाको जितमा ओपनर क्विन्टन डी कोकले २७ बलमा २० रनको योगदान दिए । कप्तान एडेन माक्रामले १४ बलमा १२ रन जोडे । हेनरिक क्लासेनले नटआउट १९ रन बटुल्न २२ बलमा समान एक चौका र छक्का प्रहार गरेका थिए । डेभिड मिलरले ६ बलमा ६ रन जोडे । उनले नै दक्षिण अफ्रिकाका लागि विजयी चौका प्रहार गरेका थिए । 

यसअघिको ब्याटिङमा दक्षिण अफ्रिकाका लागि एनरिच नोर्जेले घातक बलिङ गर्दै सात रन खर्चेर सर्वाधिक चार विकेट लिएका थिए । केशव महाराजले २२ रनमा दुई विकेट हात पारे । श्रीलंकाको कमजोर ब्याटिङमा ओपनर कुशल मेन्डिसले ३० बल सामना गरी १९ रन जोडे । एन्जेलो म्याथ्युसले १६ बलमा दुई छक्का प्रहार गरी १६ रन जोडे । 

विश्व च्याम्पियनले २४ लाख ५० हजार डलर पाउने
आइसिसी टी–२० विश्वकप क्रिकेटको विजेताले २४ लाख ५० हजार अमेरिकी डलर पुरस्कार पाउने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषदले सोमबार टी–२० विश्वकपको पुरस्कार रकम घोषणा गरेको हो । विश्वकपको उपविजेताले १२ लाख २८ हजार अमेरिकी डलर पाउनेछ ।

प्रतियोगितामा सहभागी सबै टोलीले दुई लाख २५ हजार अमेरिकी डलर पाउनेछन् । आइसिसीको यस घोषणाअनुसार नेपालले दुई लाख २५ हजार डलर पाउनेछ । प्रतियोगिताको पुरस्कार वितरण २९ जुनमा बार्बाडोसको किंग्स्टन ओभलमा दिइनेछ । टी–२० विश्वकपको सेमिफाइनलमा पुगेका बाँकी दुई टोलीले जनही ७ लाख ८७ हजार डलर पाउनेछन् ।

क्वार्टरफाइनलबाट बाहिरिएका चार टोलीले जनही ३ लाख ८२ हजार डलर पाउनेछन् । यसैगरी, प्रतियोगिताको नवौं देखि १२ औँ स्थानमा रहने टोलीले जनही २ लाख ४७ हजार डलर पाउनेछन् । १३औँ देखि २०औं स्थानमा रहनेले टोलीले २ लाख २५ हजार डलर पाउने आइसिसीले जनाएको छ । क्वार्टरफाइनल र सेमिफाइनलबाहेकका अरु खेल जित्नेले प्रति खेल जितेबापत ३१ हजार १५४ डलर पाउने छन् ।  सुपर ८ अघि ४० समूह चरणका खेल हुनेछन् । दुई समूहमा हुने सुपर ८ बाट चार टोली सेमिफाइनल पुग्नेछन् ।

आजका खेल
अफगानिस्तानविरुद्ध युगान्डा

समय– ६:१५ बिहान
इंग्ल्यान्डविरुद्ध स्कटल्यान्ड
समय– ८:१५ बिहान
नेपालविरुद्ध नेदरल्यान्ड्स
समय– ९:१५ राति

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु