चेन्नइमा अब धोनीको स्थान लिने खेलाडी को ?

छिनोफानो   शनिबार १९, साउन २०८१ १२:०५

काठमाडौं । विश्व क्रिकेटका सर्वाधिक सफल कप्तान र विकेटकिपर महेन्द्रसिंह धोनी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा देखिन्छन् वा देखिंदैनन् भन्न सकिंदैन । किनभने धोनीले कुन निर्णय कति बेला लिन्छन् कसैलाई अत्तोपत्तो हुँदैन् ।

सधैं एक्कासी निर्णय लिने उनी उमेरले ४३ पुगेका छन् । यो उमेरमा मैदान उत्रिनु पक्कै सहज काम होइन । तर, फिटनेसमा सधैं ध्यान दिने उनी उमेरलाई एउटा अंक मात्रै मान्छन् । उनको जोश हेर्दा त्यति गाह्रो काम पनि होइन ।

धोनीको उत्कृष्ट फिनिसर ब्याटिङ शैली, किपिङ, कप्तानी, युवा खेलाडीलाई स्टार बनाउने कला अनि शान्त स्वभाव समर्थकलाई सदावहार हेरिरहन मन लाग्छ । जति हेर्दा पनि आँखा थाक्दैन । अनि मन आतिदैन । साँच्चिकै अद्भूत प्रेरणा भएका खेलाडी हुन् ।

आईपीएल तीन-तीन वर्षको अन्तरमा मेगा अक्सन हुन्छ । मेगा अक्सन २०२५ को नियमपछि निर्णय लिने धोनी बताउँछन् ।

‘यसका लागि धेरै समय छ । खेलाडी रिटेनसम्बन्धी उनीहरू के निर्णय गर्छन् त्यो हामी हेर्नुपर्छ । अहिले बल मेरो कोर्टमा छैन । मेगा अक्सनका नियमहरू औपचारिक रूपमा आएपछि निर्णय लिनेछु । तर, निर्णय टोलीको हितमा हुन आवश्यक छ,’ धोनीले तीन दिनअघि आईपीएल खेल्नेबारे भने ।

चेन्नइले मेगा अक्सनमा ऋतुराज गायकवाड, रवीन्द्र जडेजा र मथिसा पाथिरानालाई रिटेन गर्ने लगभग पक्का छ । डेभन कन्वे, डर्याल मिचेल र रचिन रवीन्द्रमध्ये एक खेलाडी रिटेन हुने सम्भावना रहन्छ । चारभन्दा बढी खेलाडी मेगा अक्सनमा रिटेन गर्न मिले धोनीले खेल्ने सम्भावना धेरै छ । पुरानै नियम रहे मेगा अक्सनमा चार खेलाडी (बढीमा तीन भारतीय) राख्न पाइन्छ । यो अवस्थामा धोनी खेल्ने अवस्था कम रहन्छ ।

आइपीएलका फ्रेन्चाइज र बीसीसीआईबीच मेगा अक्सन नियम परिवर्तन गर्न यसै बुधबार छलफल भएको थियो । जसमा पाँच-पाँच वर्षको अन्तरमा मेगा अक्सन, ७ खेलाडी रिटेन, अक्सनमा विकेपछि विना कारण नाम फिर्ता लिने विदेशी खेलाडीलाई दुई वर्ष प्रतिबन्धदेखि इम्प्याक्ट खेलाडी नियम खारेज गर्नुपर्ने फ्रेन्चाइजको माग थियो ।

धोनी सोसल मिडियाभन्दा सधैं टाढा बस्न रुचाउने क्रिकेटर हुन् । भारतीय क्रिकेटमा सर्वाधिक लोकप्रिय क्रिकेटर पनि धोनी नै हुन् । सोसल मिडिया विना पनि लोकप्रिय हुन सकिन्छ भन्ने एउटा उदाहरण हुन् ।

‘मेरा समर्थकप्रति म कृतज्ञ छु । यद्यपि म सोसल मिडियामा त्यति सक्रिय छैन । उनीहरू मेरो पोष्टको प्रतीक्षा गर्दछन् । जब म केही सेयर गर्छु उनीहरूलाई त्यो मनपर्छ । जब आवश्यक हुन्छ उनीहरू मेरो रक्षा र प्रशंसा गर्दछन्’, धोनीले हालै भनेका छन् ।

धोनी भनेपछि फ्यान फेरि हुरुक्क नै हुन्छन् । आईपीएलमा जहाँ धोनी हुन्छन्, त्यहाँ चेन्नइ सुपर किंग्सका समर्थकले भरिपूर्ण हुन्छन् । पछिल्ला दुई वर्षमा धोनीको खेल मानिसले झनै हेर्न चाहे । किनभने कुन खेल धोनीको अन्तिम हुने हो त्यो थाहा हुँदैन । चेन्नइको विपक्षी टोलीको मैदानमा खेल्दा पनि घरेलु कसको हो त्यो छुट्याउन गाह्रो पर्छ । धोनीलाई ब्याटिङमा हेर्न अन्य खेलाडी छिटो आउट हुन् भनेर समर्थक कामना गर्दछन् ।

चेन्नइको घरेलु मैदान एम चिदाम्बरम रंगशालामा पहिलो जर्सी बाहेक अन्य भेट्न मुस्किल पर्दछ । खेलको त कुरै छाडौं, धोनीको अभ्यास ब्याटिङ हेर्न रंगशालामा समर्थक भरिभराउ हुन्छन् । भारतीय र चेन्नइ समर्थकका लागि धोनी भगवान् हुन् ।

किनभने टी-२० विश्वकप (२००७), एक दिवसीय विश्वकप (२०११) र च्याम्पियन्स ट्रफी (२०१३) जित्ने उनी विश्वकै एक्लो कप्तान हुन् । पूर्वकप्तान सुनिल गावस्कारका अनुसार भारतीय क्रिकेटलाई धोनीले दिन केही बाँकी छैन र उनी भन्दा महान क्रिकेटर पनि छैनन् ।

चेन्नइका त धोनी ‘थाला’ (हेड अफ लिडर) नै भए । पहिलो संस्करण २००८ देखि हालसम्म धोनी निरन्तर चेन्नइबाट खेलेका छन् । स्पट फिक्सिङको कारण २०१६/१७ को संस्करणमा चेन्नइलाई प्रतिबन्ध लागेपछि उनले राइजिङ पुणे सुपरजायन्टसबाट खेलेका थिए ।

धोनीको कप्तानीमा उसले पाँच पटक (२०१०, २०११, २०१८, २०२१ र २०२३) मा उपाधि जितेको थियो । पाँच पटक (२००८, २०१२, २०१३, २०१५ र २०१९) मा उप-विजेता बनेको थियो । उनले २००८ देखि २०२३ सम्म पुग्दा प्लेअफमा पुग्न नसकेको २०२० र २०२२ मा मात्रै हो ।

मुम्बईले पाँचपटक उपाधि जितेको छ । तर ७ पटक प्लेअफमा पुग्न सकेको छैन । अनि एक पटक उप-विजेता बनेको छ । उपाधि समान ५ जिते पनि मुम्बई भन्दा चेन्नइ आईपीएलमा धेरै सफल टोली हो ।

धोनी आफ्नो सक्रिय करियरमा हुँदा चेन्नइलाई सिधैं आईपीएल फाइनल खेलाउँदा खासै फरक नपर्ने अवस्था थियो ।

टोली जस्तो सुकै होस् । उनी आफ्नो कप्तानीमा टिम च्याम्पियन बनाउँथे । युवा खेलाडी चेन्नइ पुगेपछि स्टार बन्छन् । अनि खराब प्रदर्शनबाट गुज्रेका खेलाडी नयाँ शैलीमा विश्वास गर्न नसक्ने प्रदर्शन गर्दछन् । पछिल्लो समय युवा बलर मथिसा पाथिराना र अनुभवी ब्याटर अजिंक्या रहाणे र शिवम दुबे त्यसका उदाहराण हुन् ।

सुरेश रैनाका अनुसार धोनी चेन्नइका मालिक, कप्तान र म्यानेजर सबै हुन् । चेन्नइमा सधैं सबै अधिकार उनीमाथि हुन्छ ।

धोनीले २०२२ मा कप्तानी रवीन्द्र जडेजालाई सुम्पिएका थिए । जडेजाको कप्तानीमा चेन्नइ ८ मध्ये ६ खेलमा पराजित भयो । कप्तानी दबाबमा खराब प्रदर्शनले आफ्नो करियर नै धरापमा पर्ने अवस्था आएपछि प्रतियोगिता बीचमै नेतृत्व छाड्दै धोनीलाई पुन सम्पिएका थिए ।

२०२३ को आईपीएल उपाधि जितेपछि धोनीले २०२४ मा ऋतुराज गायकवाडलाई नेतृत्व दिए । किनभने कप्तानी हस्तान्तरण चेन्नइलाई ठूलो चुनौती हो । युवा ओपनर गायकवाडको नेतृत्वमा चेन्नइले १४ खेलमा समान ७ मा जित र हार निकाल्दै पाँचौं स्थानमा रहेर बाहिरियो ।

आईपीएलमा आफ्नो विरासतलाई निरन्तरता दिन अब भने चेन्नइले उनको विकल्प तयार पार्नुपर्छ । पछिल्लो संस्करणमा धोनीले अन्तिम ओभरमा प्रायः ब्याटिङ गरेका थिए । २०२४ मा ११ इनिङमा ७३ बल खेल्दा १३ छक्का र १४ चौका हानेका थिए । टिम च्याम्पियन बन्न प्रमुख फिनिसर वा विकेटकिपरले दुई तीन बल मात्रै खेलेर पर्याप्त हुँदैन ।

त्यसैले अब चेन्नई बायाँ हाते विकेटकिपर ऋषभ पन्तलाई धोनीको भूमिकामा ल्याउन चाहन्छ । पन्त पनि आफ्नो गुरुको भूमिका सम्हाल्न खुसी र इच्छुक देखिन्छन् ।

पन्त २०१६ देखि नै दिल्लीबाट खेल्दै आएका छन् । २०२१, २०२२ र २०२४ को संस्करणमा दिल्लीको कप्तानी गरे । उनको कप्तानीमा दिल्ली २०२१ मा प्लेअफ र २०२२ मा पाँचौं र २०२४ मा छैटौं स्थानमा रहेर बाहिरिएको थियो । २०२३ मा कार दुर्घटनाको कारण पन्तले आईपीएल गुमाउँदा डेविड वार्नरले दिल्लीको नेतृत्व सम्हाल्लेका थिए ।

पन्त चेन्नई जाने तयारीमै छन् । दिल्लीले उनलाई कप्तानको रुपमा रेटन गर्न रुचि देखाएको छैन । दिल्लीका निर्देशक सौरभ गांगुलीलाई असहयोग गरेको आरोप पनि छ ।

उपाधिविहीन दिल्ली कप्तानी, प्रशिक्षक, खेलाडी र म्यानेजमेन्टमा ठूलो परिवर्तन गर्ने सोच बनाएको छ । मुख्य प्रशिक्षक रिकी पोन्टिङले पनि दिल्ली क्यापिटल्समा ७ वर्ष यात्रा समाप्त गरेका छन् । रिकी पोन्टिङले छाड्नुले पन्त पनि नहुने अनुमान गर्न सकिन्छ । कप्तानी नपाउँदा खेलाडीको रूपमा उनी दिल्लीमा बस्ने सम्भावना न्यून छ । त्यसैले उनी चेन्नइ गएमा खासै आश्चर्य मान्नु पर्दैन ।

फिल्डिङ मिलाउनेदेखि कप्तानी भूमिकामा ऋतुराजलाई धोनीले सहयोग गरेका छन् । धोनी नहुँदा ऋतुराजलाई कप्तानीमा कठिन पर्नसक्छ ।

त्यसले गर्दा पन्त कप्तान, विकेटकिपर र फिनिसर तीनै भूमिकामा चेन्नइलाई उपयुक्त विकल्प देखिन्छन् । पन्त बाहेक धोनीको भूमिकामा सही विकल्प भारतीय र अन्तर्राष्ट्रिय दुवै क्रिकेटमा तत्काल देखिंदैनन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु