दशौँ राष्ट्रिय खेलकुदमा छनोटका लागि बैतडीमा खेलाडीको नाम दर्ता शुरु

छिनोफानो   सोमबार २१, साउन २०८१ ११:४७

बैतडी : दशौँ बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बैतडीमा खेलाडीको नाम दर्ता खुला गरिएको छ।  प्रतियोगिताका लागि आज नाम दर्ता खुला गरिएको बैतडी जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशीले जानकारी दिए। 

सहभागी हुन चाहने महिला र पुरुष खेलाडीले भदौ ५ गतेसम्म जिल्ला खेलकुद विकास समितिको कार्यालयमा आएर नाम दर्ता गरिसक्नुपर्नेछ। 

उनले भने, “प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीले अनिवार्य रुपमा खेलाडी नाम दर्ता फारम भरेको हुनुपर्नेछ, फारम नभरेको खेलाडीले छनोट प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन।”

खेलाडीले दर्ता फारम भर्दा नेपाली नागरिकताको प्रमाणपत्र वा जन्मदर्ताको प्रमाणपत्र,अर्को जिल्ला भए बसाइसराइको प्रमाणपत्र र २ प्रति पासपोर्ट साइजको फोटो आवश्यक पर्ने जनाइएको छ। 

जिल्लामा खेलाडी छनोट प्रतियोगिता भदौ १५ देखि ३१ सम्म सञ्चालन हुने बैतडी जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीले बताए। 

जिल्लामा भलिबल, क्रिकेट, कबड्डी, एथ्लेटिक्स, ब्याडमिन्टन, फुटबल‚ खो–खो, बुद्धिचाल, भारत्तोलन, टेबलटेनिस, कराँते, तेक्वान्दो, बक्सिङ, फुल कन्ट्याक्ट कराँते, उसु, आईटीएफ तेक्वान्दो, ह्याण्डबल र सेपाकटाक्रो खेलहरुका छनोट प्रतियोगिता खेलाइनेछन्।

​जिल्लाबाट छानिएका खेलाडीले सुदूरपश्चिम प्रदेश छनोट प्रतियोगितामा सहभागी हुन पाउनेछन्। 

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा दशौँ बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर २ गतेदेखि ९ गतेसम्म कर्णाली प्रदेशमा हुँदै छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु