अफगानिस्तानमा १४ लाख महिलालाई शिक्षामा प्रतिबन्ध

छिनोफानो   शुक्रबार ३२, साउन २०८१ ०७:३४

अफगानिस्तानमा तालिबान सरकारले १४ लाख महिलालाई शिक्षामा प्रतिबन्ध लगाएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । महिलाको माध्यमिक र उच्च शिक्षामा प्रतिबन्ध लगाउने विश्वको एक मात्र देश अफगानिस्तानमा १४ लाख महिला शिक्षाबाट वञ्चित भएका संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले जनाएको हो ।

यो सङ्ख्या सन् २०२३ को तथ्याङ्कभन्दा तीन लाखले बढी रहेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । सन् २०२१ मा सत्ता नियन्त्रणमा लिएपछि तालिबानले इस्लामिक कानूनको उल्लङ्घन भएको भन्दै छैटौँ कक्षाभन्दा माथिका महिलाको शिक्षामा रोक लगाएको थियो ।

युनेस्कोको प्रतिवेदन अनुसार अफगानिस्तानमा महिलाको माध्यमिक र उच्च शिक्षामा प्रतिबन्ध लागू हुनुअघि नै शिक्षाको पहुँच नभएका महिलाहरूलाई जोड्ने हो भने झण्डै २५ लाख महिला शिक्षाको अधिकारबाट वञ्चित छन् । यो तथ्याङ्कले ८० प्रतिशत विद्यालय जाने उमेरका युवतीहरूको प्रतिनिधित्व गर्ने खबरमा उल्लेख छ ।

तालिवान सरकारले पुरुषको शिक्षामा रोक लगाएको छैन । तर महिलाका लागि कक्षाकोठा र क्याम्पसहरू पुनः खोल्ने कुनै सङ्केत र तयारी नभएको एएफपीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु