गिट्टी कुट्ने रहर होइन बाध्यता

छिनोफानो   मङ्गलबार १८, भदौ २०८१ १०:४५

बाजुराको सदरमुकाम मार्तडीनजिकै छ, बाहुलीखोला । त्यही बाहुलीखोलाको किनारमा सधैँ भेटिनुहुन्छ, बाजे र नातिनी । उहाँलाई पसिनाले शरीर पूरै भिजाएको हुन्छ । बुढा बाजेलाई घाम छेक्न नातिनीले छाता ओढाइदिन्छिन् । उहाँहरू नौलो मान्छे देख्दा केही खानेकुरा भए माग्नुहुन्छ ।

७२ वर्षीय बुध्या लोहार र उहाँकी नातिनी बाउली खोलाको किनारमा गिट्टी कुट्नुहुन्छ । जीवनको उत्तरार्धमा लोहारले झेलिरहेको सास्ती कहालीलाग्दो छ । ७२ वर्षको बुढो शरीर र त्यसमाथि ढुङ्गा गिट्टीको काम । भोको पेटमै उहाँ बिहान ६ नबज्दै गिट्टी कुट्न बाहुली खोला किनार पुग्नुहुन्छ । हातमा सानो हतौडा, एउटा लट्ठी, साथमा नातिनी र हातमा छाता बोकेर गिट्टी कुट्न हरेक बिहान बाहुली खोलाको किनारमा पुग्ने र साँझ घर फर्कने बुध्या लोहारको दैनिकी हो ।

गाउँ छाडेर सदरमुकाम मार्तडी आइपुगेका उहाँले गिट्टी कुट्न थालेको करिब दुई वर्ष पुग्न थाल्यो । उहाँ भन्नुहुन्छ, “छोरा घरमा छैन, अहिले छोरीसँगै बसिरहेको छु । यो बुढेसकालमा पाल्ने कोही छैन, यहीँ गिट्टी कुट्दै दुःख झेलेको छु ।”

“उतिबेला थोरबहुत तागत थियो, काम गरेर खान समस्या थिएन,” बुध्या भन्नुहुन्छ, “अब साह्रै बुढो भइयो, काम गर्न निकै गाह्रो हुन्छ तर नगरे खान पाइँदैन ।” उहाँको घर गौमूल गाउँपालिका–२ हो । अहिले गाउँ छोडेर मार्तडीको बाउलीखोलामा गिट्टी कुट्दै आउनुभएको छ । 

“गाउँमा खेतबारी थियो, उब्जनी हुँदैन, दुई महिना खानसमेत पुग्दैन । सहारा बन्दिने श्रीमती साथमा छैनन् । तीन वर्षअगाडि श्रीमतीको मृत्यु भयो । अब त घर पनि भत्किसक्यो होला । खेतबारी पनि बाँझै होला । गाउँ फर्कने धोको थियो तर के गर्नु, गिट्टी फुटाएको पैसाले महिनाको दुई हजार कोठा भाडा तिर्न र खानसमेत पुग्दैन,” उहाँले दुःखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, “गिट्टीसमेत उधारोमा लिन्छन् । अहिलेसम्म पैसा दिएका छैनन् । बिहान बेलुकाको छाक टार्नै धौ धौ छ ।”

स्थानीय प्रकाश विकले कतिपय बाध्यताले गिट्टी कुट्छन् भने कोही रहरले गिट्टी कुट्ने गरेको बताउनुभयो । उहाँका अनुसार योजनाका लागि गिट्टीको माग बढेपछि यो व्यवसाय गर्ने महिला, वृद्धवृद्धा तथा बालबालिकाको सङ्ख्या बढेको छ । 

पछिल्लो समयमा जिल्लामा पक्की भवन, सडक स्तरोन्नति, विद्यालयका भवन जस्ता पूर्वाधार निर्माणका काम बढेपछि गिट्टीको मागसमेत बढेको छ । साना तथा मझौला आयोजना निर्माणका लागि यसरी नै फुटकर रूपमा गिट्टी किन्ने गरिन्छ । स्थानीयस्तरमा हुने आयोजनाको छेउछाउमा फुर्सदका बेला युवकयुवती, विद्यार्थीसमेत बिदाको दिनमा अभिभावकसँग गिट्टी कुट्न जाने गरेका छन् ।  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु