धनगढी । कैलालीमा निर्वाचन प्रहरीका लागि छ हजार बढिले आवेदन दिएका छन् । अगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्र्र्वाचनका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा छ हजार ४७ जनाले आवेदन दिएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले २५ पुसदेखि बिहीबारसम्म निर्वाचन प्रहरीका लागि छ हजार ४७ जनाले आवेदन दिएको जानकारी दिए । उनकाअनुसार कैलालीमा चार हजार ९८ जना निर्वाचन प्रहरी माग गरिएको थियो ।
नेपाल प्रहरीका लागि तीन हजार पाँच सय ७६ र सशस्त्र प्रहरीलाई ५२२ जना निर्वाचन प्रहरी मागिएको थियो । डीएसपी सिंहले प्रहरीतर्फ मागिएको संख्यामा कुल पाँच हजार १५१ जनाको आवेदन परेको छ । उनीहरु मध्ये दुई हजार आठ सय ६६ पुरुष र दुई हजार दुई सय ८५ जना महिला रहेका छन् ।
जसमा ७१ जना पूर्व सैनिक, ३३ जना पूर्व प्रहरी, ५ जना पूर्व सशस्त्र प्रहरी र ७११ जना पूर्व म्यादी प्रहरी रहेको उनले बताए । सशस्त्र प्रहरीका लागि ५२२ जना निर्वाचन प्रहरी माग गरिएकोमा ८९६ जनाको आवेदन परेको छ । आवेदन दिनेमा ५२२ पुरुष र ३७४ जना महिला रहेका छन् ।
सशस्त्र तर्फको निर्वाचन प्रहरीका लागि २० जना पूर्व नेपाली सेना, पूर्व प्रहरी एक जना, पूर्व सशस्त्र प्रहरी तीन र ५२ जना पूर्व म्यादी प्रहरीले आवेदन दिएका छन् । कैलालीमा निर्वाचन प्रहरीमा आवेदन दिने सयम बिहीबार सकिएको छ । अब आवेदन दिएका मध्येबाट निर्वाचन प्रहरी छनोटको प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस