काठमाडौं । आज २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, भूकम्पसम्बन्धी विविध सचेतनामूलक कार्यक्रम गरेर यो दिवस मनाइँदैछ ।
यस वर्ष काठमाडौंको खुलामञ्चमा मूल समारोह तथा भूकम्प सुरक्षा प्रदर्शनी आयोजना हुँदैछ । यसैगरी आज दिउँसो २ः२४ मिनेटमा सञ्चार माध्यममा एकसाथ बज्ने धुनसँगै एक मिनेट भूकम्पीय सुरक्षाका लागि राष्ट्रिय अभ्यासमा सहभागी भएर पनि दिवस मनाइँदैछ ।
विसं १९९० माघ २ गते गएको विनाशकारी भूकम्पको संझनामा २०५५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ । उक्त दिन दिउँसो २:२४ बजे गएको ८.४ म्याग्निच्युडको भूकम्पले जनधनको ठूलो क्षति पुर्याएको थियो ।
विस १९९० को भूकम्पमा परी ८ हजार ८१९ जनाको मृत्यु भएको थियो । ८० हजार घर ध्वस्त भएका थिए ।
ध्वस्त घरसहित घर, विद्यालय, देवालय र पार्टीपौवा तथा सार्वजनिक भवनसमेत गरी २ लाख ७ हजार दुई सय ४८ संरचना भत्किएको थियो ।
यसैगरी विसं २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पमा परी ८ हजार ६७० जनाको ज्यान गएको थियो भने ७ लाख भन्दा बढी आवासमा क्षति पुगेको थियो ।
भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउने उद्देश्यले राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने गरिएको छ ।
प्रतिकृया दिनुहोस