धनगढी । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले सार्वजनिक सवारी साधन चेकजाँचलाई तिब्रता दिएको छ । सार्वजनिक सवारी साधनका धनीहरुले भाडादर बढाएको गुनासो जनस्तरबाट आउन थालेपछि ट्राफिक प्रहरीले चेकजाँचमा कडाई गरेको हो ।
सोमबार पनि धनगढीका विभिन्न स्थानमा सार्वजनिक सवारी साधन चेकजाँच तथा अनुगमन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ । कोरोना संक्रमण चेन ब्रेक गर्न स्थानीय प्रशासनले कैलालीमा बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको थियो ।
तर निषेधाज्ञा खुलेपनि सार्वजनिक सवारी साधनका धनीहरुले भने विभिन्न बहानामा चर्को भाडा असुल्दै आएका छन । सार्वजनिक सवारी साधनहरुले महङ्गो भाडा लिने गरेको जनगुनासो आएपछि आफुहरुले अनुगमन तिब्र पारेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरिक्षक बिरेन्द्र बहादुर बोहराले जानकारी दिए ।
केन्द्र सरकारले लामो दुरीको भाडादर बढाएको भएपनि छोटो दुरीको भाडादर नभएका कारण यात्रुहरु मारमा पर्न थालेको उनले बताए । प्रदेश भित्रका विभिन्न स्थान सम्म पुग्न प्रदेश सरकारले भाडादर कायम गर्नु पर्ने बताउँदैं उनले आफुहरुलाई सो भाडादर कार्यान्वयन गर्न सजिलो हुने बताए । साथै उनले जिल्लाका विभिन्न ठाउँहरुमा आफुहरुले सार्बजनिक सवारी साधनहरुमा भाडा लिष्ट भए÷नभएको अनुगमन गर्ने गरेको जानकारी दिए ।
पहिलो पटक भाडादर बढाएका सवारी साधन धनीहरुलाई सम्झाई बुझाई गर्ने र फेरी पनि भाडा बढाएको भेटिए कानुन अनुसार कारवाही प्रहरी निरिक्षक बोहराले बताए । यस्तै चेकजाँच तथा अनुगमनका क्रममा भाडा लिष्ट टाँस नगरेका सार्वजनिक सवारी साधनमा भाडा लिष्ट टाँस्न लगाईएको छ ।
सावारी साधनका चालक÷सहचालक तथा सवारी धनीहरुलाई सवारी साधनहरुमा भाडादर टाँस्न लगाएको र नभएका सवारी साधनहरुलाई अनिबार्य रुपमा राख्न सम्झाई बुझाई गरिएको जिल्ला ट्राफिक प्रहरी कार्याल कैलालीले जनाएको छ ।
प्रतिकृया दिनुहोस