भारतबाट फर्कनेबाट समुदायमा सङ्क्रमणको जोखिम

छिनोफानो   बिहिबार २९, पुष २०७८ ११:३०

विभिन्न नाका भएर भारतबाट फर्किरहेका व्यक्तिबाट सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण समुदायस्तरमा संक्रमण उच्च हुने खतरा बढेको छ ।प्रदेशको चार वटा नाकाबाट दैनिक फर्किरहेकामध्ये कैयौं व्यक्ति परीक्षण नगराइ घरतर्फ गइरहेकाले सङ्क्रमण समुदायमा फैलिने खतरा बढेको हो ।

पछिल्लो समय भारतमा सङ्क्रमण अत्यधिक बढेकाले भारतबाटै फर्कने नेपालीहरुमा सीमा नाकामा कोरोना सङ्क्रमण बढी पुष्टि भइरहेको छ । भारतको विभिन्न राज्यमा नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोरोना सङ्क्रमण बढेपछि कामको सिलसिलामा भारतका पुगेका नेपाली धमाधम फर्किरहेका छन् । प्रदेशको गौरीफन्टा, गड्डाचौकी, झुलाघाट, पुलघाट नाका भएर फर्किरहेका उनीहरुको नाकामै कोरोना परीक्षणको व्यवस्था गरिएको छ ।

एन्टिजेन विधिबाट नाकामै परीक्षण गर्ने व्यवस्था भएपनि सङ्क्रमण बढेको बेला स्वदेश फर्किरहेका कैयौं व्यत्तिः परीक्षण नगराइ घरतर्फ गइरहेका छन् । त्यस्ता व्यक्तिको लापरवाहीका कारण नयाँ भेरियन्टसमेत समुदायमा फैलिने खतरा रहेको छ । पहिलो र दोस्रो लहरको कोरोना सङ्क्रमण भारतबाटै फर्कने नेपाली दाजुभाईकैकारण समुदायमा भुसको आगो झै फैलिएको थियो । 

अहिले सुदूरपश्चिम प्रदेशमा सङ्क्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो एक सातामामात्रै ७२२ जना सङ्क्रमित थपिएका छन् । जसमध्ये भारतबाट आएका व्यक्तिमात्रै ५३० जना सङ्क्रमित रहेका प्रादेशिक स्वास्थ्य निर्देशनालयको कार्यालयले जानकारी दिएको छ ।

सो कार्यालयका अनुसार पुस २७ गते चार वटै नाकाबाट एक हजार ६२२ जना भित्रिएका थिए । जसमध्ये एक हजार ५८२ जनाको परीक्षण गर्दा १४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सोही दिन भारतबाट आएका ५० जना परीक्षण नगराइ घरतर्फ गएका छन् ।

यसैगरी, पुस २६ गते भित्रिइका एक हजार ४३७ जनामध्ये एक हजार ३३७ जनाको परीक्षण भयो । एक सय जना परीक्षण नगराई भित्रिएका छन् । त्यो दिन ८८ जनामा सङ्क्रमण पुष्टि भएको थियो । यस्तै, पुस २५ गते चारवटै नाकाबाट ९८८ जना भित्रिएका थिए । जसमध्ये ९७६ जनाको परीक्षण गर्दा ४७ जनामा सङ्क्रमण पुष्टि भएको थियो । १२ जनाले भने परीक्षण गराएनन् । 

पुस २४ गते एक हजार ७३२ जना स्वदेश भित्रिएकोमा एक हजार ३४३ जनाको परीक्षण गरिएको थियो । त्यो दिन सबैभन्दा बढी ३८९ जना परीक्षण नगराइ गन्तव्यतर्फ गएका छन् । परीक्षण गरिएकामध्ये १२५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

त्यस्तै, २३ गते एक हजार ३४५ जना भित्रिएका थिए । एक हजार १७८ जनाले नाकामै कोरोना परीक्षण गराए । तर, १६७ जनाभने परीक्षण नगराइ भित्रिएका छन् । त्यो दिन नाकामा ९७ जनामा कोरोना पुष्टि भएको थियो । पुस २२ गते नाका गरिएको परीक्षणमा १०७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सो दिन एक हजार ५१० जना स्वदेश भित्रिएका थिए । जसमध्ये एक हजार २७८ जनाको परीक्षण भएको थियो । २३२ जना परीक्षण नगराइ घरतिर गएका छन् ।

यस्तै, पुस २१ गते नाकामा गरिएको परीक्षणमा ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उक्त दिन चारवटै नाकाबाट एक हजार १८९ जना भित्रिएकोमा एक हजार ३६ जनाको नाकामै परीक्षण गरिएको थियो । १५३ जनाको भने परीक्षण भएन । उनीहरु परीक्षण नगराइ गन्तव्यतर्फ गएका छन् ।

भारतबाट फर्किनेको लर्को लागेपछि नाकामा परीक्षण गर्न र पोजेटिभ देखिएकालाई व्यवस्थापन गर्नसमेत समस्या भइरहेको छ । गौरीफन्टा नाकाबाट फर्किएकाहरुको हकमा कैलाली, कञ्चनपुरका जिल्ला स्वास्थ्य कार्यालयले संयुक्त रुपमा हेल्थ डेस्क राखेर परीक्षण गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु