सर्लाहीको हरिवनमा उखु बोकेको ट्रयाक्टरमा रात्रि बस ठोक्किँदा २४ जना घाइते,दुईको अवस्था गम्भीर

छिनोफानो   शुक्रबार १४, माघ २०७८ १०:४४

सर्लाहीको हरिवनमा उखु बोकेको ट्रयाक्टरमा रात्रि बस ठोक्किँदा २४ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

गए राति भैरहवाबाट विराटनगर जाँदै गरेको लु २ ख ४७५७ नम्बरको बस हरिवन- ९ सुखेपोखरीमा बिग्रिएर रोकी राखेको उखु लोड गरेको ज २ त ७८१ नम्बरको ट्रयाक्टरमा ठोक्किँदा दुर्घटना भएको हो । पश्चिमबाट उखु लिएर हरिवनस्थित इन्दु शंकर चिनी उद्योगतर्फ जाँदै गरेको ट्रयाक्टर बिग्रिएपछि बनाउन सडक छेउमा रोकेर राखेको बेला दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

‘चालक निदाएको कारण दुर्घटना भएको अनुमान हामीले गरेका छौँ,’ डिएसपी बुढाथोकीले भने, ‘थप अनुसन्धान हुँदैछ ।’ घाइतेमध्ये एक पुरुष र एक महिलाको अवस्था गम्भीर रहेको उनले जानकारी दिए । उनीहरूलाई थप उपचारको लागि वीरगन्ज रिफर गरिएको छ ।

अन्य घाइतेको हरिवनमा रहेको नमूना, स्वाभिमान लगायतका अस्पतालमा उपचार भइरहेको छ । बस चालक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रयाक्टर चालक भने फरार छन् । ट्रयाक्टरको पछाडीबाट बसले ठक्कर दिए पनि दुबै सबारी साधन पल्टिएका भने छैनन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु