शिक्षा क्षेत्रमा लगानी बढाउने गरि कानुन बन्दैछ : राज्यमन्त्री

छिनोफानो   शनिबार १५, माघ २०७८ १२:५७

काठमाण्डाै – प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउने गरी कानुनी व्यवस्था गर्न लागेको बताउनु भएको छ ।

राज्यमन्त्री श्रेष्ठले सरकारले विद्यालय तह, प्राविधिक शिक्षालय र उच्च शिक्षाको छुट्टाछुट्टै कानुन बनाउन लागेको उल्लेख गर्दै ती कानुनहरु बनेपछि शिक्षा क्षेत्रमा लगानी गर्ने वातावरण अझ बढी बन्ने बताउनु भएको हो । शनिबार काठमाण्डौको स्वस्तीश्री गुरुकुल विद्यालयले आयोजना गरेको एक कार्यक्रमलाई भर्चुअल माध्यामबाट सम्बोधन गर्दै उहाँले शिक्षा क्षेत्र र स्वास्थ्य क्षेत्रमा सबैको पहुँच पुर्‍याउने काममा सरकार लागि परेको बताउनु भयो ।

‘अब संघीय कानुन बनि सकेपछि तीन वटा कानुन बन्दैछ । एउटा विद्यालय तहको कानुन । टेक्निकल शिक्षाको कानुन र उच्च शिक्षाको कानुन बन्छ', राज्यमन्त्री श्रेष्ठले भन्नु भयो, 'त्यो बनिसकेपछि शिक्षा क्षेत्रमा लगानी गर्ने वातावरण अझ बढी बन्छ । त्यो कुराको अपेक्षा गरौँ । यस कुरामा म तपाईंहरुलाई आश्वस्त पनि गराउन चाहन्छु ।’

राज्यमन्त्री श्रेष्ठले शिक्षा क्षेत्रको विकासमा अझ सक्रियताका साथ लाग्न पनि निजी क्षेत्रका लगानीकर्ताहरुलाई आह्वान गर्नु भयो । कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष रामकृष्ण चित्रकारले विद्यालयको शैक्षिक क्रियाकलापका बारेमा जानकारी गराउनु भएको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु