शिशुकाे हत्या गर्न लगाउनेलाई जन्मकैद

छिनोफानो   बिहिबार २०, माघ २०७८ ०९:११

डाेटी -  उच्च अदालत दिपायल राजपुरले शिशु हत्या गर्न लगाएको अभियोग लागेका बाजुराका राजकुमार बडुवाललाई जन्मकैदको फैसला सुनाइएको छ ।

हाडनाता करणीबाट गर्भ रही जन्मेको शिशुलाई मार्न दबाब दिएको अभियोगमा राजकुमारमाथि जिल्ला अदालत बाजुरामा उजुरी परेको तर जिल्ला अदालत बाजुराले अभियुक्तलाई निर्दोष भन्दै सफाइ दिएको थियाे । तर, उच्च अदालत दिपायल राजपुरले भने राजकुमार दोषी भएको ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो ।

राजकुमारको बलात्कारपछि गर्भवती भएकी एक युवतीले २०६९ साल जेठ २७ गते शिशु जन्माएकी थिइन् । उनीबाट जन्मिएको बच्चा मारिदिनु भन्दै पटकपटक दबाब दिएपछि युवतीले जन्मेको ३४ दिनमा विषादी खुवाइ आफ्नै सन्तानको हत्या गरेको प्रमाणका आधारमा राजकुमारलाई जन्मकैदको सजाय सुनाइएको उच्च अदालत दिपायल राजपुरले जनाएको छ । 

हिजाे उच्च अदालतका कामु मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश जगतबहादुर थापाको संयुक्त इजलासले राजकुमारलाई मुख्य दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो । यसैगरी शिशुको हत्या गर्ने युवतीलाई चार वर्ष कैद हुनेगरी जिल्ला अदालत बाजुराले सुनाएको सजाय उच्च अदालत दिपायल राजपुरले सदर गरेको छ ।

यस घटनामा संलग्न भएको र विषादी जडीबुटी ल्याएर बालकलाई खुवाउन सहयोग गरेको आरोपमा अर्की एक महिलालाई छ महिना कैद सजाय सुनाइएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु