अब हामीहरू सक्रिय राजतन्त्र बाेकेर हिँड्दैनाैँ : कमल थापा

छिनोफानो   मङ्गलबार २५, माघ २०७८ ०३:२९

मकवानपुर – राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गर्नुभएको छ । आज हेटौँडामा पत्रकारहरूसँग कुरा गर्दै थापाले भन्नुभयो, ‘३१ वर्ष लामो पार्टीको सम्बन्ध टुट्न गएको छ, आजदेखि म राप्रपाबाट अलग भएको छु ।’

हेटौँडा आएर राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गर्नुभएका कमल थापाले नयाँ पार्टी खोल्ने सङ्केत गर्नुभएको छ । अहिले तत्काल आफू पार्टीबाट अलग हुने र पछि सबैको सल्लाहमा मात्र के गर्न सकिन्छ त्यही गर्ने उहाँले बताउनुभयो ।  

मकवानपुरमा रहेका राप्रपा कार्यकर्तालाई सम्बोधन गर्दै राप्रपाका निवर्तमान अध्यक्षसमेत रहनुभएका थापाले अब नयाँ यात्रामा अगाडि बढ्ने बताउनुभयो । अब आफूहरू सक्रिय राजतन्त्र बोकेर नहिँड्ने बताउँदै उहाँले राजनीतिमा सबैखालका अवरोध हटाएर नयाँ सम्भावनातिर लागेको बताउनुभयो । 

राप्रपालाई राजनीति पार्टी भन्दा पनि राजाको पुनर्स्थापना गर्ने भजन मण्डली समिति बनाउन लागिएको नेता थापाकाे आराेप छ । नियोजित रूपमा पार्टीभित्रको चुनावमा चार सयभन्दा बढी मत बदर गरिएको उहाँकाे दाबी छ । उहाँले आफूहरूले परिकल्पना गरेको राजसंस्था पार्टी राजनीतिभन्दा माथि रहेको बताउनुभयो । 

पूर्वराजाको हस्तक्षेपकारी भूमिकाकै कारण आफूले पार्टीको अध्यक्ष पदको चुनावमा पराजित हुनुपरेको आराेप लगाउनुभयाे । राप्रपा राजाले खोलेको पार्टी नभएको बताउँदै उहाँले भन्नुभयो, ‘म जितेको भए पनि निर्मल निवासले चुनावमा गरेको हस्तक्षेपकाे विरोध गर्थेँ । पहिले पनि राजाकै कारण पार्टी फुटेको हो । अहिलेको पार्टीभित्रको चुनावमा पनि राजाले हस्तक्षप गर्नुभयो । याे सह्य भएन ।’ 

गएकाे मङ्सिरमा भएको एकता महाधिवेशनमा अध्यक्षमा पराजित भएसँगै थापा असन्तुष्ट रहँदै आउनुभएको थियो । थापाले पूर्वराजा ज्ञानेन्द्र शाहले महाधिवेशनको चुनाव प्रक्रियामा हस्तक्षेप गरेका कारण अध्यक्षमा आफू पराजित भएको आरोप लगाउँदै आउनुभएको छ । पूर्व राजाको भूमिकाको बारेमा पार्टीले छानबिन गर्नुपर्ने र त्यस्तो अवस्था आउँदा दिनमा दोहोरिन नदिन पार्टीले कदम चाल्नुपर्ने माग थापाको छ ।  

थापाले विज्ञप्ति नै निकालेर पार्टीभित्र सैद्धान्तिक विचलन र गलत प्रवृत्ति हाबी भएको र त्यसलाई सुधार गरेर जाने आफ्नो चाहनाको सुनुवाइ नभएकाले अलग भएको बताउनुभयो । अत्यन्त भारी मन र पीडाबोधका साथ पार्टीबाट अलग हुने निर्णय गरेको पनि विज्ञप्तिमा उहाँले उल्लेख गर्नुभएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु