दोब्बर हुने लोभमा ‘आइएनएस भिडियो पुस’मा लगानी गरेका नेपालीको अर्ब डुब्यो

छिनोफानो   शनिबार २९, माघ २०७८ ०२:५३

काठमाडौं । सन् २००६ मा रिलिज भएको बलिउड फिल्म ‘फिर हेरा फेरि’ तपाईं हामी अधिकांशले पक्कै हेरेको हुनुपर्छ ।

चलचित्रमा अक्षय कुमारले अभियन गरेको पात्र राजुलाई एकदिन अनुराधा लक्ष्मी चिट फन्ड नामक कम्पनीबाट फोन आउँछ । फोनसँगै पैसा कमाउने गज्जबको अफर पनि आउँछ ।

२१ दिनमा पैसा डबल !

अर्थात् जति पैसा लगानी त्यसको ठ्याक्कै २१ दिनमा दोब्बर । तर एउटा शर्त हुन्छ, पैसा कम्तीमा १ करोडदेखि १० करोडको बीचको हुनुपर्छ ।

राजु आफूसँग भएको केही बचत र ऋणको जोहो गरेर १ करोड लगानी गर्छ । तर २१ दिनमा पैसा डबल हुनु त परै जाओस कम्पनी कैयनसँग पैसा उठाएर भागिसकेको हुन्छ ।

चलचित्रको यो दृश्यसँग ठ्याक्कै मेल खाने घटना हालै नेपालमा पनि भएको छ । तर यहाँ पैसा २१ दिनमा होइन १ महिनामा डबल हुने भन्दै करोडौं रुपैयाँ ठगी गरिएको छ ।

एक महिनामै पैसा डबल हुने लोभमा परेर आइएनएस भिडियो पुस कम्पनीमा लगानी गरेका हजारौं नेपालीहरुको १ अर्ब रुपैयाँभन्दा बढी रकम डुबेको छ ।

पिरामिड शैलीको यो कम्पनीमा लगानी गरेका लगानीकर्ताले पछिल्लो ४ दिनदेखि भुक्तानी पाएका छैनन् । कम्पनीले नेपालमा अवैध मानिएको क्रिप्टोकरेन्सीमार्फत् भुक्तानी गर्ने गर्दै आएको थियो । यसका लागि कम्पनीले बाइन्यान्स एप प्रयोग गरेको थियो ।

आइएनएसमा लगानी गर्नेहरु चिनजानका व्यक्तिले पैसा कमाएको सुनेको आधारमा लगानी गरेका हुन् । यसको वास्तविक लगानी र कम्पनीको बारेमा लगानीकर्ता भने अनभिज्ञ छन् ।

कम्पनीमा पहिले लगानी गर्नेहरुले नेपालबाटै भुक्तानी गरेर पैसा तिरेका छन् । त्यसपछि कम्पनीको नाममा क्रिप्टोकरेन्सीका रुपमा पैसा भुक्तानी गएको छ । कम्पनीले भुक्तानी समेत क्रिप्टोकरेन्सीमा दिने गरेको थियो । कम्पनीमा लगानी गर्नेहरुले गैरकानूननी तरिकाले पैसा लगानी गरेका हुन् ।

आफ्ना साझेदार साथीले एक महिनामा पैसा डबल बनाएको खबर सुनेपछि नेपालगञ्जका सुदीप (नाम परिवर्तन)ले शुरुमा १ लाख ५ हजार रुपैयाँ लगानी गरे । कम्पनीले यसका लागि भी ३ भन्ने प्याकेज उपलब्ध गराएको थियो ।

साथीले पैसा कमाएको सुनेर लगानी गरेका सुदीपले लगानी गरेको १ लाख दोब्बर हुनु त छाडौं त्यो पैसा पनि डुब्यो ।

उनका अनुसार यसरी आइएनएस भिडियो पुस लगानी गर्नेहरुमा व्यक्ति, व्यवसायी, बैंकर, सरकारी कर्मचारी, सुरक्षा निकायका कर्मचारीका साथै अति विपन्न सर्वसाधारण समेत छन् ।

क्लिकमाण्डूको सम्पर्कमा आएका लगानीकर्ताहरुका अनुसार नेपालभर करिब १ अर्ब रुपैयाँ बराबरको लगानी यस्तो नेटवर्किङ व्यवसायमा भइसकेको छ ।

किराना पसल चलाउने रमेश आचार्य पसलमा आउने व्यक्तिहरुले पैसा कमाएको देखेर १७ हजार लगानी गरेका थिए । जुन डुबेको छ ।

‘एक महिनामा पैसा डबल हुन्छ भनेर पैसा लगानी गरेको १७ हजार डुब्यो,’ आचार्यले भने ।

डेढ महिनाअघि १ लाख लगानी गरेर पैसा दोब्बर पारेका टेड्रिङ व्यवसायी महेश पौडेलले १० लाख रुपैयाँ फसाएका छन् ।

‘एक महिनामा १ लाख लगानी गरेको डबल भयो, त्यसपछि १० लाख लगानी गरेको ५ लाखभन्दा बढी डुबेको छ,’ उनले भने ।

गैर कानूनी काम भएको हुँदा सार्वजनिक हुन नसकेको र उजुरी गर्न नसकिनएको पौडेल बताउँछन् । बुटवलमा व्यवसाय गर्ने पौडेलका अनुसार बुटलल क्षेत्रमा मात्र यस्तो नेटवर्किङ व्यवसायमा ५० लाखसम्म लगानी गर्ने व्यवसायी उनले चिनेका छन् ।

‘इज्जत जाने डर तथा गैरकानूनी काम भएको हुँदा यसरी ठूलो लगानी गर्नेहरु खुल्न सक्दैनन्,’ पौडेलले भने ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु