गस्तीमा गएका प्रहरीले बिरामी बोकेर अस्पताल पुर्‍याए

छिनोफानो   बुधबार ०४, फागुन २०७८ १२:०१

रुकुम पश्चिम – शान्ति र सुरक्षाको जिम्मेवारी बोकेका नेपाल प्रहरी समाजसेवाको उत्कृष्ट नमूना पनि हुन् भन्ने उदाहरण रुकुममा कार्यरत प्रहरी जवानले देखाएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम अन्तर्गत सर्केना प्रहरी चौकी खोलागाउँमा कार्यरत प्रहरी जवानद्वय स्वयमप्रकाश हमाल र दलबहादुर बुढाले एकजना वृद्ध बिरामी बोकेर अस्पताल लैजाँदै गरेको तस्बिर सार्वजनिक भएपछि अहिले उनीहरुको प्रशंसा भएको छ ।

मंगलबार जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर ११ का १ सय २ वर्षीय वृद्ध जसवीर ओलीलाई आलोपालो गर्दै पिठ्युँमा बोकेर प्रहरी जवानद्वय हमाल र बुढाले अस्पताल पुर्याएका हुन् ।
वडा नम्बर ११ का वडा अध्यक्ष मनमोहन शाहका अनुसार ढाडको बिरामी रहनुभएका ओली बाटोमै छटपटिरहनुभएको खबर सुनेपछि प्रहरी चौकीबाट गस्तिमा गएका प्रहरीले बोकेर वडा नम्वर १० मा रहेको शहीद स्मृति अस्पताल पुर्याएका हुन् ।

गाडी चल्ने बाटो पनि छ, गाउँमा स्टेचर खोजेर पनि बोक्न सकिन्थ्यो, तर बिरामीको कसैले वास्ता नगरेपछि प्रहरी आफैले बोकेर अस्पताल लिएका हुन् । जानकारी अनुसार बिरामी ओली हप्तादिनदेखि थलिनुभएको थियो । अस्पताल लैजान आग्रह गरे पनि कसैले वास्ता नगर्दा आफै हिडेर जान लागेका बिरामी ओली हिँड्न नसकेर बाटोमै थला परेपछि प्रहरीले उद्धार गरेका थिए ।

समाजमा हुने अपराध न्यूनीकरण गर्दै नागरिकलाई सुरक्षा दिन मात्र नभइ नागरिकलाई हुने दुःख पीडामा पनि प्रहरीले साथ दिने गरेको चौरजहारी नगरपालिका–११ का वडाध्यक्ष मनमोहन शाहले बताउनुभयो । अहिले ओलीको चौरजहारी नगर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु