स्थानीय तहको निर्वाचनमा उमेदवार बन्न चाहे पदबाट राजीनामा दिनुपर्ने

छिनोफानो   बिहिबार ०५, फागुन २०७८ ०२:२८

बहालवाला जनप्रतिनिधिले आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उमेदवार बन्न चाहे पदबाट राजीनामा दिनुपर्ने भएको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा जनप्रतिनिधिले पदबाट राजीनामा दिएपछि मात्रै उमेदवार बन्न पाउने व्यवस्था गरेको छ ।

‘बहालवाला जनप्रतिनिधिले उमेदवार बन्नका लागि राजीनामा दिनुपर्ने व्यवस्था आचार संहितामा गरिएको छ’, आयोग स्रोतले भन्यो । आयोगका एक पदाधिकारीकाअनुसार आचारसंहितालाई अन्तिम रूप दिने काम भइरहेको छ । आचारसंहिता भने केही समयपछि मात्रै जारी हुनेछ ।

त्यस्तै आयोगले उमेदवार बन्नका लागि बेरुजु र पेस्की फर्छ्योट भएको हुनुपर्ने व्यवस्था आचारसंहितामा गर्न लागेको छ । ‘कुनै उमेदवारी दिने व्यक्तिले आफ्नो नाममा कायम भएको तिर्नु बुझाउनुपर्ने बेरुजु फर्छ्योट गरिसकेको हुनुपर्ने छ । आफूले कुनै सरकारी निकायमा लिएको पेस्की फर्छ्योट गरिसकेको हुनुपर्नेछ’, ती पदाधिकारीले भने ।

बेरुजु र पेस्की फर्छ्योट स्थानीय तहको निर्वाचन प्रयोजनका लागि मात्रै नभएर प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि लागु गर्ने आयोगको तयारी छ । ‘प्रतिनिधिसभा र प्रदेशसभाको हकमा भने संविधानमा नै राजीनामा दिनुनपर्ने भन्ने व्यवस्था गरेको छ । तर, पेस्की पर्छ्योट गर्नुपर्ने र बेरुजु फर्छ्योट गर्नुपर्ने कुरालाई ती पदमा समेत लागु हुन्छ’, ती पदाधिकारी भन्छन्, ‘मनोनयन दिँदा मेरो नाममा कुनै किसिमको पेस्की बेरुजु बाँकी छैन भनेर घोषणा गर्नुपर्छ ।’ बेरुजु र पेस्की फर्छ्योट गरेको स्वघोषणा गरे पुग्ने व्यवस्था गर्न लागिएको छ । कसैले फर्छ्योट नगरेकोमा उजुरी परे कारबाही हुने आयोगका अर्का पदाधिकारी बताउँछन् ।

‘आयोग हेर्न जाँदैन । स्वघोषणा गरे पुग्छ । तर कहीँकतै कसैले थाहा पाएर उजुरी दिए कारबाही हुन्छ । प्रमाणित भएर आचारसंहिता ठहर्छ’, ती पदाधिकारी भन्छन् ‘उमेदवारी दिएको छ भने उमेदवारी रद्द हुन्छ । जितेको छ भने ढाँटेको भनेर कारबाही गरेर अर्को निर्वाचन गर्न सक्नेसमेत अधिकार छ ।’ वैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन हुँदैछ । आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ताको आह्वान पनि गरेको छ । आयोगले आजदेखि १५ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु