एमसीसीबारे दोहोरो चरित्र प्रदर्शन नगर्न दलहरुलाई दबाब

छिनोफानो   सोमबार ०९, फागुन २०७८ १२:०३

काठमाण्डाै - नेकपा माओवादी र एकीकृत समाजवादीसँगको सहमतिमै सरकारले संसदमा एमसीसी टेबल गरे पनि दुवै दलले दोहोरो चरित्र प्रदर्शन गरेका छन् ।

हिजो संसदमा एमसीसी टेबल भइरहँदा दुवै दलका एकथरी सांसदले उठेर विरोध गरे भने अर्काथरीले बसेर समर्थन गरे । दुवै दलका शीर्ष नेताहरूले एमसीसी संसदमा टेबल गर्न दिने निर्णय गरे पनि उनीहरुका कार्यकर्ताले सडकमा प्रदर्शन गरेका छन् ।

दुवै दलभित्र एमसीसीको विषयलाई लिएर चर्को विवाद उत्पन्न भएको छ । सत्ता गठबन्धन जोगाएर सरकारमा रहिरहनका लागि दुवै अध्यक्ष एमसीसीमा लचिलो बनेको भन्दै कार्यकर्ता पङ्क्तिबाट चर्को आलोचना भइरहेको छ ।

शीर्ष नेतृत्वले एमसीसी संसदमा टेबल गर्न सहमति पनि जनाउने, अनि संसद् र सडकबाट विरोध पनि जनाउने दोहोरो चरित्र प्रदर्शन नगर्न दुवै दलमाथि दबाब बढेको छ । प्रमुख सत्तारूढ दल कांग्रेस सुरुदेखि नै एमसीसीको पक्षमा रहँदै आएको छ ।

एमालेले भने एमसीसीलाई राजनीतिक दाउपेचको विषय बनाएको छ । एमाले नेताहरूले एमसीसीको सन्दर्भमा सरकार र गठबन्धनको धारणा आएपछि आफ्नो धारणा सार्वजनिक गर्ने बताउँदै आएका छन्।

केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले २०७६ मा एमसीसी संसदमा दर्ता गराउनुभएको थियो । त्यसअघि ओली नेतृत्वकै सरकारले २०७५ मा एमसीसी संसदमा पेस गर्ने निर्णय गरेको थियो । तर, आफैँले दर्ता गरेको प्रस्ताव संसदमा टेबल गरिएपछि त्यसको पक्ष वा विपक्षमा मतदान गर्नेबारे एमालेले कुनै निर्णय गरेको छैन ।

संसद्को अर्को बैठक बस्नुअघि नै पार्टीको धारणा स्पष्ट गर्न एमालेभित्र पनि दबाब बढेको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु