स्थानीय तहको चुनावमा विद्युतीय मेसिनकाे प्रयोग हुने सम्भावना कम

छिनोफानो   मङ्गलबार १०, फागुन २०७८ ११:०४

काठमाण्डाै - स्थानीय तहको चुनावमा विद्युतीय मेसिन प्रयोग नहुने सम्भावना देखिएको छ । निर्वाचन आयोगले मतपत्रकै प्रयोग गरी मतदान गराउन कागज खरिदका लागि टेन्डर समेत आह्वान गरेको छ ।

विद्युतीय मतदान प्रयोगबारे निर्वाचन आयोगले गठन गरेको उच्चस्तरीय विज्ञ टोलीले भने सकेसम्म विद्युतीय मेसिनबाट स्थानीय तहको चुनाव गराउन सुझाव दिएको थियो ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाका अनुसार विद्युतीय मेसिनका लागि आवश्यक पर्ने आर्थिक स्रोत तथा देश बाहिरबाट खरिद गर्ने मेसिनको प्रमाणीकरणमा मुख्य समस्या छ । त्यसका साथै चुनावमा भाग लिने दलहरुबीच विद्युतीय मेसिन प्रयोगका लागि सहमति जुट्न पनि गाह्रो रहेको प्रमुख आयुक्त थपलियाले बताउनुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तको संयोजकत्वमा गठन भएको विज्ञ टोलीले विद्युतीय मतदानमा जानुपर्ने सुझावसहितको प्रतिवेदन एक हप्ताअघि आयोगलाई बुझाइसकेको छ ।

विज्ञ समूहले खर्च जोगिने भएकाले विद्युतीय मेसिन प्रयोग गर्न उपयुक्त हुने सिफारिस गरेको छ । तर आयोगले मतपत्रबाटै चुनाव गर्ने गरी सात सय मेट्रिक टन कागज खरिदको टेन्डर गरिसकेको छ । यसअघि केही राजनीतिक दलले पार्टीको महाधिवेशनमा विद्युतीय मेसिन प्रयोग गरेका थिए ।

सरकारले स्थानीय तहको चुनाव वैशाख ३० गते एकैचरणमा गर्ने घोषणा गरिसकेको छ । त्यसैअनुसार निर्वाचन आयोगले चुनावको तयारी तीव्र पारेको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु