जबराविरुद्धको महाअभियोग प्रस्ताव प्रतिनिधिसभाको बैठकमा पेस

छिनोफानो   आइतबार २९, फागुन २०७८ ०४:५४

प्रतिनिधिसभामा प्रधानन्यायधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग प्रस्ताव प्रतिनिधिसभाको बैठकमा पेस भएको छ । आइतबार एमालेको अवरोध जारी रहे पनि सत्ता गठबन्धन नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले जबराविरुद्धको महाअभियोग प्रस्ताव पेस गरेका हुन् ।

उनले प्रधानन्यायाधीश जबरामाथि महाअभियोग लगाउनुपर्ने कारणसहितको प्रस्ताव बैठकमा पेस गरेका थिए । प्रस्ताव पेस गर्ने क्रममा प्रमुख सचेतक गुरुङले जबराले स्वतन्त्र न्यायपालिकाको सिद्धान्त विपरीत काम गर्न खोजेको बताए ।

जबराका कारण कात्तिकदेखि माघसम्म न्यायलयबाट न्याय सम्पादन हुन नसकेको उनको भनाइ थियो । जबराका कारण न्यायालयमा भ्रष्ट्राचार, विकृति र विसंगति देखा परेको उनले बताएका छन् । प्रधानन्यायायधीश जबराले संविधानले दिएको क्षेत्राधिकारलाई पूरा गर्न नसकेको उनको भनाइ थियो । संवैधानिक परिषद्को सदस्य भएकाले कार्यपालिकामा पनि हिस्सा खोजेको गुरुङले बताए । गत फागुन १ गते ३ जना प्रस्ताव र ९५ जना समर्थिकसहित प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।

बैठकमा सभामुख सापकोटाको रुलिङ
प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले रुलिङ गरेका छन् । उनले प्रतिनिधिसभामा विचाराधीन ४२ विधेयकलाई नियमानुसार पारित गर्ने, आमनागरिकका दैनिक समस्याहरू जनप्रतिनिधिले सरकारलाई सुनाउने, समाधानको प्रयत्न गर्ने, सरकारलाई संसदप्रति उत्तरदायी बनाउने, कानुन निर्माण एवं निगरानी गर्ने कार्यहरूसमेत अवरोधका कारण प्रभावित हुन पुगेको भन्दै रुलिङ गरेका हुन् ।

‘विचाराधीन विधेयकहरूलाई नियमानुसार पारित गरी राज्य सञ्चालनमा सहयोग गर्नु हामी सवैको दायित्व हो । संसद अवरोधका कारण विधि निर्माण प्रक्रिया प्रभावित भएकोमा जनता र राष्ट्रका समस्यामा छलफल गर्न नपाएकोमा माननीय सदस्यहरूले मलाई पटक-पटक ध्यानाकर्षण गराउनु भएको छ । संसदलाई प्रभावकारी बनाउन आमरुपमा प्रश्न उठिरहेको छ । तसर्थ अवरोध अन्त्य गरी सभा सञ्चालनमा सहयोग गर्न म सम्बन्धित माननीय सदस्यहरुलाई विशेष अनुरोध गर्दछु,’ उनले भने । एमाले सांसदको अवरोधका कारण प्रतिनिधिसभा बैठक प्रभावित भएको भन्दै सभामुख सापकोटाले रुलिङ गरेका हुन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु