स्थानीय तह निर्वाचनमा पार्टीको भूमिकाबारे छलफल गर्न नेकपा को केन्द्रीय समिति बैठक बस्दै

छिनोफानो   शुक्रबार ०४, चैत २०७८ ११:०५

स्थानीय तह निर्वाचनमा पार्टीको भूमिकाबारे छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक बस्दै छ । कपिलवस्तुको शिवगढीमा आज (शुक्रबार) बिहानदेखि बैठक शुरु हुने सचिवालय सदस्य धर्मेन्द्र वास्तोलाले जानकारी दिएका छन् ।

बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई उपयोग वा बहिष्कार गर्ने भन्नेबारे बैठकले नीतिगत निर्णय गर्ने प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले जनाएका छन् । गत २६ फागुनमा सम्पन्न भएको सचिवालय बैठकमै महासचिव विप्लवले चुनाव उपयोगबारे प्रस्ताव गरेका थिए । उक्त प्रस्तावबारे नेकपाको उच्च तहमै समान मत छैन ।

पाँच सदस्यीय सचिवालय बैठकमा विप्लवको प्रस्तावको पक्षमा प्रवक्ता विश्वकर्मा मात्रै उभिएका थिए । वास्तोला र हेमन्तप्रकाश वली ‘सुदर्शन’ यसको विपक्षमा थिए । अर्का सचिवालय सदस्य सन्तोष बुढामगर भने तटस्थ बसेका थिए । पार्टीमा विप्लव र प्रवक्ता विश्वकर्माको पडक भएकाले केन्द्रीय समिति बैठकले चुनाव उपयोगको नीति लिने अनुमान गरिएको छ ।

चुनावमा जानुपर्नेमा विप्लव र विश्वकर्मा एकमत रहे पनि कोसँग मिलेर जाने भन्नेमा उनीहरुबीचमै मत भिन्नता रहँदै आएको छ । विश्वकर्मा एमालेसँग तालमेल गरेर जानुपर्ने पक्षमा छन् भने विप्लव खुलिसकेका छैनन् । माओवादी केन्द्रका नेता कृष्णबहादुर महरासँग विप्लवको नियमित भेटघाट भइरहेकाले विप्लवले माओवादीसँगै मिलेर जानुपर्ने विचार राख्नसक्ने स्रोतले जनाएको छ । अघिल्लो स्थानीय तह निर्वाचन विप्लव समूहले बहिष्कार गरेको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु