विप्लवको चुनावमा भाग लिने प्रस्ताव क्रान्ति विरोधी भन्दै फिर्ता नभए पार्टी विभाजनको चेतावनी

छिनोफानो   शनिबार ०५, चैत २०७८ ०३:१४

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको जारी केन्द्रीय समिति बैठकमा महासचिव विप्लवले पेश गरेको राजनीतिक प्रस्ताव क्रान्ति विरोधी र विभाजनकारी भएको नेताहरुले टिप्पणी गरेका छन् ।हिजो ९शुक्रबार० बाँडिएको प्रस्तावमा चुनावमा सहभागी हुनुपर्ने उल्लेख थियो । उक्त प्रस्ताव अध्ययनका लागि भन्दै शनिबार केन्द्रीय सदस्यहरुलाई बाँडिएको थियो । प्रस्तावमाथि धारणा राख्दै सचिवालय सदस्यहरुले नै प्रस्ताव क्रान्तिविरोधी र विभाजनकारी भएको भन्दै फिर्ता लिन महासचिव विप्लवलाई सुझाव दिएका छन् ।

आजको बैठकमा विप्लवले पेश गरेको प्रस्तावमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने भनिएको थियो । तर, बहुसंख्या केन्द्रीय सदस्यहरुले प्रस्तावमाथि सचिवालय सदस्यहरुकै धारणा आउनुपर्ने माग राखेका थिए । सो मागअनुसार आज सचिवालय सदस्य धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश ओली र सन्तोष बुढाले धारणा राखिसकेका छन् । बास्तोला र ओलीले महासचिवको प्रस्ताव क्रान्ति विरोधी भएको बताउँदै फिर्ता लिन आग्रह गरेका छन् ।

नेता बास्तोलाले महासचिव विप्लवको प्रस्तावमाथि धारणा राख्दै भने, ‘महासचिव कमरेडको चुनावमा सहभागी हुनुपर्ने भन्दै आएको राजनीतिक प्रस्ताव क्रान्ति विरोधी छ, पार्टी विभाजनकारी छ । प्रस्ताव फिर्ता लिएर क्रान्ति र पार्टीको रक्षा गर्नुस् ।’ उनले चुनावमा सहभागी हुन सोंच क्रान्ति विरोधी भएको समेत बताए ।

त्यसैगरी सचिवालय सदस्य ओलीले विप्लवको प्रस्ताव देश र जनताले अपेक्षाको विरुद्धमा भएको बताएको एक केन्द्रीय सदस्यले जानकारी दिए । प्रस्तावले क्रान्तिकारी कार्यभार पूरा नगर्ने बताउँदै फिर्ता लिएर चुनाव बहिष्कारको कार्यक्रम बनाउनुपर्ने बताए ।

‘चुनावमा जाने महासचिवको प्रस्ताव देश र जनताले हामीसँग गरेको अपेक्षाको विरुद्धमा छ । यसले पार्टीलाई विभाजनमा लैजान्छ । यो प्रस्ताव फिर्ता लिएर चुनाव बहिष्कारको योजनासहितको प्रस्ताव ल्याउने आग्रह गर्दछु’, ओलीले भने । अर्का सचिवलाय सदस्य बुढाले भने आज आफ्नो भनाई बदलेका छन् । सचिवालय बैठकमा विप्लवको प्रस्तावको विरुद्धमा बोलेका बुढाले नेतृत्वले धोका नदिने भन्दै चुनाव उपयोग गर्न सकिने धारणा राखेका छन् ।

अब बैठकमा सचिवालय सदस्य खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र महासचिव ‘विप्लव’ ले बोल्न बाँकी छ । आज सचिवालय सदस्यहरुले बोलेपछि भोलिबाट केन्द्रीय सदस्यहरुले धारणा राख्ने एक नेताले जानकारी दिएका छन् ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु