भूमिगत जलस्रोतको संरक्षण र संवर्धन गरौं: प्रधानमन्त्री

छिनोफानो   मङ्गलबार ०८, चैत २०७८ १०:४४

प्रधानमन्त्री शेरबहादुर देउवाले जलस्रोतको ठूलो अंश मानिने भूमिगत जलस्रोतको प्रयोगमा जनसंख्याको ठूलो हिस्सा आश्रित भइरहेको हुँदा जलभण्डारको पहिचान र दिगो उपयोग गर्दै उपलब्ध जलभण्डार र पानीको गुणस्तरको संरक्षण गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन् ।

भूमिगत जलस्रोतको संरक्षण र संवर्धन गरौं’ भन्ने नाराका साथ यस वर्ष मार्च २२ का दिन मनाइने विश्व पानी दिवसका अवसरमा शुभकामना दिंदै उनले भूमिगत जलस्रोतको संरक्षण र संवर्धनमा आफ्नो क्षेत्रबाट योगदान पुर्‍याउन सबैमा आह्वान गरेका छन् ।

संरक्षणको जिम्मेवारीलाई प्रभावकारी तवरले कार्यान्वयनमा उतार्न अन्तर निकाय समन्वय, सूचना प्रणालीको सुदृढीकरण, जलस्रोतको समन्यायिक वितरणका साथै यस विषयमा प्राज्ञिक अध्ययन, अनुसन्धान र प्रभाव विश्लेषणलगायतका कार्यलाई निरन्तर सञ्चालन गर्न आवश्यक हुने उनले बताए ।

प्रधानमन्त्री देउवाले सरकारको एकल प्रयासले मात्र भूमिगत जलस्रोतको संरक्षण र दिगो विकास लक्ष्यअन्तर्गत खानेपानी तथा सरसफाइसम्बन्धी लक्ष्य हासिल गर्ने प्रयास पर्याप्त नहुने हुँदा यस कार्यमा सबैको सहयोग, सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गरेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु