अभिनेता पल शाहमाथि १२ देखि १४ वर्ष कैद सजायको माग दाबी गर्दै तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता

छिनोफानो   मङ्गलबार ०८, चैत २०७८ ०७:०८

एक नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा हिरासतमा रहेका अभिनेता पल शाहमाथि १२ देखि १४ वर्ष कैद सजायको माग दाबी गर्दै तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । मंगलबार जिल्ला सरकारी वकिल कार्यालय तनहुँले जिल्ला अदालत तनहुँमा जबरजस्ती करणीको कसुरमा मुद्दा दर्ता गराएको हो ।

तनहुँका जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माका अनुसार शाहविरुद्ध नाबालिग बलात्कार प्रकरणमा १२ देखि १४ सजाय र पीडितलाई क्षतिपूर्ति भराउन मागदाबीसहित अदालतमा मुद्दा दर्ता गरिएको हो ।

‘१२ देखि १४ वर्ष सजाय माग गर्दै मुद्दा अदालत लगेका हौं । यो भनेको विद्यमान कानुन अनुसार अधिकतम सजाय माग दाबी हो’, शर्माले भने, ‘साथै पीडितलाई चार लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि माग गर्दै अदालतमा मुद्दा दर्ता भएको छ ।’

जिल्ला सरकारी वकिल कार्यालय तनहुँका जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माका अनुसार वारदातको समयमा पीडित बालिकाको उमेर १६ वर्षभन्दा कम रहेको कारण पलमाथि १२ देखि १४ वर्ष कैद सजाय र मनासिब क्षतिपूर्तिको माग दाबी गर्दै मुद्दा दर्ता भएको हो ।

तनहुँको दमौलीमा घटना हुँदा ती नाबालिग गायिकाको उमेर १५ वर्ष ९ महिना मात्रै रहेको खुलेको छ । नवलपुरमा घटना हुँदा पनि उनको उमेर १५ वर्ष ८ महिना चार दिन मात्रै रहेको जन्मदर्ताबाट पुष्टि भएको थियो । त्यसै गरी पलका म्यानेजर भनिएका कृष्ण जोशीविरुद्ध पनि मतियारका रुपमा मुद्दा दर्ता गरिएको शर्माले बताएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु