सासुको हत्या गरेको आरोपमा बुहारीलाई पक्राउ

छिनोफानो   शुक्रबार ११, चैत २०७८ १०:४९

दाङको शान्तिनगरमा सासुको हत्या गरेको आरोपमा प्रहरीले बुहारीलाई पक्राउ गरेको छ । शान्तिनगर गाउँपालिका-७ राउतराकी ६५ वर्षीया कमिनी कुँवरको हत्याको आरोपमा उनकी बुहारी २३ वर्षीया कुमारी कुँवरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

बुहारी कुमारीले यही चैत ८ गते साँझ स्थानीय कोर्बाङस्थित जङ्गलमा धारिलो हतियार प्रहार गरी सासुको हत्या गरेको अनुसन्धानबाट खुलेको डिएसपी अर्यालले बताए । अर्यालका अनुसार सासु कमिनी चैत ८ गते दिउँसो शान्तिनगर-६ कोर्बाङस्थित गनारीमा रहेको आफ्नो बारीमा केराउ टिप्न गएकी थिइन् । केराउको भारी बोकेर साँझ घर फर्किने क्रममा जङ्गलमा पूर्व योजनाअनुसार कुमारीले सासुको हत्या गरेकी हुन् ।

कमिनीको शव दुबै आँखा फोडिएको, टाउको पछाडि, घाँटी र कान काटिएको तथा छातीमा छुरा रोपिएको अवस्थामा फेला परेको थियो । स्थानीयले कमिनीको शव जंगलमा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

बुहारी कुमारीले सासुको हत्या आफूले गरेको स्वीकारेकी डीएसपी अर्यालले बताएका छन् । पक्राउ परेकी बुहारी कुमारीलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न बिहीबार दाङ जिल्ला अदालतले अनुमति दिएको छ । कमिनीले बुहारी मन नपरेको भन्दै छोरालाई अर्को बिहे गर्न भन्ने गरेकाले त्यसको आवेगमा हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको डीएसपी अर्यालले बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु