एमालेका केन्द्रीय सल्लाहकार समिति सदस्य गोपाल गुरागाईंमाथि खुकुरी प्रहार

छिनोफानो   आइतबार २७, चैत २०७८ ०३:५५

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका केन्द्रीय सल्लाहकार समिति सदस्य गोपाल गुरागाईंमाथि खुकुरी प्रहार भएको छ । ७६ वर्षीय गुरागाईंमाथि शनिबार अपराह्न धनकुटा नगरपालिका-६ स्थित आफ्नै निवासमा २३ वर्षीय दिनेश पोखरेलले खुकुरी हानेको प्रहरीले जनाएको छ ।

गुरागाईंको दायाँ आँखाको माथिल्लो भागमा गहिरो चोट लागेको छ । परिवारका सदस्यसँग गफ गरिरहेका बेला एक्कासी खुकुरी प्रहार गरिएको प्रहरीले जनाएको छ । जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको छ ।

गहिरो चोट लागेका कारण अत्यधिक रक्तश्राव भएको अस्पताल स्रोतले जनाएको छ । उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । कसैको उक्साहटमा गुरागाईंमाथि आक्रमण गरिएको हुन सक्ने आशंका रहेको छोरा राजु गुरागाईंले बताएका छन् । आक्रमण गर्ने पोखरेल धनकुटा-६ बस्ने गुरागाईंका छिमेकी हुन् । आक्रमण गरी फरार रहेका पोखरेललाई उनकै घरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका उनले गुरागाईंलाई हत्या गर्ने मनसायले खुकुरी प्रहार गरेको साबिती बयान दिएको प्रहरीले दाबी गरेको छ । आक्रमण गर्नुको कारण भने अझै खुल्न सकेको छैन । पोखरेललाई तत्काल पक्राउ गरिएको र अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए । गुरागाईंका परिवारले घटनाबारे गहिरो अनुसन्धान गरिनु पर्ने माग गरेको छ । जिल्लाकै अग्रज वामपन्थी नेता गुरागाईं वि. सं. २०४८ सालको संसदीय निर्वाचनमा तत्कालीन सांसद बनेका थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु