कैलालीको मोहन्याल गाउँपालिकाका उपाध्यक्ष, वडाध्यक्ष र प्रमुख प्रशासनिक अधिकृतसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

छिनोफानो   शुक्रबार ०२, बैशाख २०७९ ०४:०६

कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र प्रमुख प्रशासनिक अधिकृतसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त गाउँपालिकाबाट बग्ने खोलाको ढुंगा, गिट्टी र बालुवामा मिलेमतो गरेको अभियोगमा मुद्दा दर्ता गरेको हो।

मोहन्याल गाउँपालिका कैलालीका अध्यक्ष स्वर्गीय नवल सिहं रावल, उपाध्यक्ष पुजादेवी बुढामगर, वडाध्यक्षहरु, प्रमुख प्रशासकिय अधिकृत र निर्माण व्यवसायीसमेत १४ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोग लगाइएको छ। 

मोहन्याल गाउँपालिका, कैलाली भएर बग्ने पथ्थरगढ, सेतो, सालघारी, गोडे, खण्डे, बादे, साउडे र कान्द्रा खोलाको नदीजन्य पदार्थको बिक्रीकर संकलनसम्बन्धी सूचनाको आधारमा बोलपत्र बिक्री भएको थियो।  तर,  मोहन्याल गाउँपालिकाका पदाधिकारी तथा कर्मचारी र न्यू बडिमालिका निर्माण सेवाका ठेकेदारबीचको मिलेमतोमा ठेकदारलाई ५४ लाख १८ हजार ५६८ रुपैयाँ मिनाहा गरिएको थियो।

घरेलु तथा साना उद्योग कार्यालय धनगढी कैलालीमा दर्ता भएको न्यू बडिमालिका निर्माण सेवा र सोका प्रोप्राइटर मकर बहादुर शाहसमेतले पहिलो किस्ताबापतको कबोल अंक रकम शर्तबमोजिम सम्झौताका बखत जम्मा नगरी सम्झौता गरेको बताइएको छ। यसैगरी प्रमाणित राजस्व रसिद प्रयोग नगरी नदीजन्य पदार्थ संकलन गरेको र मिनाहाको माग गरी गाउँकार्यपालिकाबाट निर्णयसमेत गराई मिनाहा गराएको देखिएको छ। 

शाहबाट ५६ लाख ३ सय ४८ रुपैयाँ भराउन माग गरिएको छ। उनलाई पनि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय मागदाबी गरिएको छ। 

अध्यक्ष स्वर्गीय नवल सिहं रावलको मृत्यु भएकाले उनका अंशियारबाट विगो बापतको ५४ लाख १८ हजार ५ सय ६८ रुपैयाँ असुलउपर गर्न मागदाबी गरिएको प्रवक्ता श्यामप्रसाद भण्डारीले जनाएका छन्।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु