स्याङ्जा जीप दुर्घटना : पाँचको मृत्यु, ६ जना घाइते

छिनोफानो   आइतबार ०४, बैशाख २०७९ ०५:१२

स्याङ्जाको वालिङमा आज बिहान भएको जीप दुर्घटना परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ । वालिङ नगरपालिका-१२, सिर्सेकोटबाट वालिङ-१३ तर्फ जाँदै गरेको ग १ ज ७३९९ जीप वालिङ-१२, फिरफिरेमा दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको स्याङ्जाका पत्रकार प्रकाश डोटेलले जानकारी दिएका छन् ।

दुर्घटनामा परी वालिङ नगरपालिका-१२, डाँडाखर्कका ६५ वर्षीय वीरबहादुर डालामगर, ४० वर्षीया हिराकुमारी डाला, ३५ वर्षीया शर्मिला सारु, उनका सात वर्षीय छोरा गौरव र वालिङ-१४ की ४५ वर्षीया कुलकुमारी कनौचेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चार जनाको घटनास्थलमै र एक बालकको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका ६ जनालाई उपचारका लागि वालिङस्थित ग्रह्रौं प्राथमिक अस्पतालमा ल्याइएको थियो । तीमध्ये गम्भीर घाइते भएका तीन जनालाई उपचारका लागि पोखरा पठाइएको प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिए ।

जीप सडकबाट झण्डै एक मिटर तल खसेर चिलाउनेको रुखमा अड्किएको प्रत्यक्षदर्शीले जनाएका छन् । दुर्घटनाअघि जीपमा ११ जना सवार रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु