बेलबारीमा मेयर उम्मेदवारको गाडीमा आगजनी

छिनोफानो   शुक्रबार २३, बैशाख २०७९ ११:३८

मोरङको बेलबारीमा एक जना मेयर उम्मेदवारको गाडीमा आगजनी भएको छ । बेलबारी नगरपालिकामा राप्रपाबाट मेयरको उम्मेदवार बनेका खेमप्रसाद गौतमको बा १२ च ९३८४ नम्बरको कारमा आगजनी भएको हो ।
प्रहरीका अनुसार बेलबारी(२ स्थित घरमै पार्किङ गरेर राखेको अवस्थामा शुक्रबार बिहानपख करिब २ बजे आगजनी भएको हो । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मेयरमा उम्मेदवारी दिएका गौतमले पार्टीको झण्डा तथा मेयर र उपमेयरका उम्मेदवारको फोटोसहितको ब्यानर राखेर उक्त कार प्रयोग गर्दै आएका थिए ।

प्रहरीले आगजनीमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । सुन्दरहरैंचा नगरपालिका(१२ का अन्दाजी २८ वर्षीय सुवास पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका पाण्डे कांग्रेसका स्थानीय कार्यकर्ता हुन् । सीसीटीभी क्यामेरा फुटेजका आधारमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु